arrow

राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
election_banda.jpg

काठमाडौँ । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यामिक विद्यालय आएर मतदान गरे। पुरानो बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालयमा आफ्नो मतदाता नामावली भएपछि उनी भक्तपुरबाट पैदल हिँडेर त्यस ठाँउमा आएर मतदान गरेका छन्। 

यस्तै कोटेश्वर महादेवस्थानबाट मतदानका लागि एक घण्टा हिँडेर आएका ६३ वर्षीय सञ्जय भट्टराई लामो दूरी हिँडेर मताधिकार प्रयोग गर्न आएको बताउँछन् । मतदानपछि भट्टराई पार्टी भन्दापनि असल र विकासप्रेमी नेतालाई मतदान गरेको बताउँछन्। “जनताको सुःख दुःखमा भिजेको तथा आफ्नो ठाउँको विकास गर्ने नेतालाई मतदान गरेको छु,”– उनी भन्छन्। 

यसैगरी बानेश्वरबाट मतदानका लागि आएका पञ्चनारायण महर्जन निर्वाचनमा मत प्रयोग गर्न पाएकोमा मख्ख छन्। “निर्वाचनपछि मुलुकमा केही परिवर्तन हुन्छ भन्ने लागेको छ,”– उनले भने। निर्वाचनको दिनमा सरकारले निजी तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपछि टाढाटाढाबाट मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न मतदानस्थलसम्म पुगेका छन् । 

पुरानो बानेश्वरको रत्नराज्य विद्यालयमा तीनवटा मतदान केन्द्र राखिएको छ । केन्द्र ‘ग’ का मतदान अधिकृत नगेन्द्रकुमार कालाखेती रत्नराज्य मतदान स्थलमा तीन हजार ७०४ मतदाता रहेको बताउनुहुन्छ । “बिहानदेखि नै एकै तवरले मतदाताहरु लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका,”– उनले भने । 

काठमाडौँ महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमुल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका ठाँउ यस क्षेत्रमा पर्छन् । 

काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझा पार्टीबाट पार्टीका संयोजक रविन्द्र मिश्र चुनावी मैदानमा छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ