arrow

गोरखामा प्रकाशले जोगाएको काँग्रेसको शाख, बाबुरामको ह्याट्रिकसहित अरु को को जिते ? 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Gorkha-hamrakura-new-.jpg.jpeg.jpeg

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित भएका छन् । नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बनेका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गरेका हुन् । 

यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम शनिबार राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरे । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित भएका थिए ।

यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा चर्चामा थियो र छ । माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी भएका हुन् । 

डा भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ । 

चीनकाजीलाई हराए हरिराजले 
गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले पराजित गरे । 

कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गरे ।

अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गरे । यहाँ चार हजार ३३५ मत बदर भएको थियो । 

चार प्रदेशमा चार दल निर्वाचित 

गोरखाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये वाम गठबन्धनले गोरखा– १ र लोकतान्त्रिक गठबन्धनले गोरखा–२ मा जितेका छन् । यस्तै चार दलका उम्मेदवारले चार प्रदेशसभामा एक स्थानमा विजयी हासिल गरेका छन् । 

गोरखा–१ का दुई प्रदेशसभा क्षेत्रमा वाम गठबन्धन तथा गोरखा २ का दुई क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी बने । 

गोरखा १ प्रदेशसभा क्षेत्र कमा काँग्रेसका नेता धीरन थापालाई पराजित गर्दै माओवादी केन्द्रका नेता लेखबहादुर थापा विजयी भएका हुन् । 

यस्तै प्रदेश खमा काँग्रेस नेता राजेन्द्र बजगार्इँलाई पराजित गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत विजयी भए ।

गोरखा २ प्रदेशसभा क्षेत्र क मा नेकपा माओवादीकी नेत्री कमला नहर्कीलाई पराजित गर्दै नयाँ शक्तिका नेता हरिशरण आचार्य विजयी भए भने ख प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभासद् अमर तमुलाई पराजित गर्दै काँग्रेसका नेता प्रकाशचन्द्र दवाडी विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ