arrow

चीनकाजीको हारमा को कति दोषी ? कसको अन्तर्घात ?  

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
chinkaji.jpg

गोरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले निर्वाचनमा पराजय भोग्ने नियती सायदै देखेका थिए । त्यसैले त उनी उत्साहपूर्वक गोरखा क्षेत्र नं १ मा चुनावी प्रचारमा लागेका थिए । 

तर उनी मतगणनापछि हार्न पुगे । त्यो हार उनलाई अहिले पनि सहज लागिरहेको छैन । 

उनी नेकपा माओवादी केन्द्रका नेता हरिराज अधिकारीसंग पराजित भए । श्रेष्ठ तीन हजार २१७ मतान्तरले पराजित भएका हुन् । 

कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गरेका थिए । 

यति ठूलो अन्तरको हार हुँदा पनि चीनकाजीले हारेजस्तो महसुस नहुनुको कारण भने उनको हारको अन्तरभन्दा बढी मत बदर हुनु हो । 

यहाँ चार हजार ३३५ मत बदर भएको थियो । बदर मत उनले हारेको मतको अन्तर भन्दा निकै धेरै छ । 

हार मतान्तर र बदर मतको अन्तरसमेत एक हजार एक सय १८ मत हुन आउँछ । 

बदर भएका सबै मत चीनकाजी कै हुन् भनी किटान गर्न त सकिन्न तर जसरी मत बदर भएको छ त्यसले भने निर्वाचन आयोगको असफलतालाई छर्लंग पार्छ । 

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले पैसाको खोलो बगायो । तर गोरखामा शिक्षाको खोलो बग्न सकेन । 

त्यसको शिकार चीनकाजी भएका छन् । वदर संख्या कम भइदिएको भए चीनकाजीलाई हारको स्वाद चाख्दा पनि अनूभुति हुने थियो होला । 

हुनत उम्मेदवारले पनि मतदातालाई सचेत बनाउनु पर्ने थियो । त्यसमा काँग्रेस पनि चुक्यो र अरु दल पनि चुके । 

एक मत मात्रको पनि अर्थ हुन्छ । एक मत बदर हुँदा पनि त्यसले ठुलो अर्थ राख्छ । 

नतिजा आइसकेको छ । यसको जश अपजश कसले लिने ? के जित्नेको मात्र हुन्छ त कीर्तिमान ?

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्को क्षेत्रमा नेपाली काँग्रेसको सहयोगमा जिते । 

तर उनले चीनकाजीलाई किन जिताउन सकेनन् ? के यहाँ पनि स्वार्थको लडाईँ देखिएकै हो ? 

प्रश्नैप्रश्नबीच अबको पाँच वर्ष प्रभावशाली नेता चीनकाजीलाई भने संसद बैठकमा देख्न पाइने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ