arrow

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
solukhumbu.png

सल्लेरी, सोलुखुम्बु ।  प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ । सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवार बनेका १८ मध्ये १२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार १२ जना उम्मेदवारले मत ल्याउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए ।

जमानत जफत हुनेमा प्रतिनिधिसभा सदस्यतर्फ पाँच, प्रदेशसभा (क)को एक स्वतन्त्रसहित चार र प्रदेशसभा (ख)को तीन गरी १२ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा तीनै ठाउँ वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस रहेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनबाट माओवादी केन्द्र, नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेमकिपा र राजपाका उम्मेदवार थिए भने प्रदेश सभा (क)मा वाम गठबन्धबाट नेकपा (एमाले), नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालसहित एक स्वतन्त्र उम्मेदवारले चुनावमा भाग लिएका थिए ।

यस्तै प्रदेशसभा (ख)मा वाम गठबन्धनबाट नेकपा (एमाले), नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम र राजपाका उम्मेदवारले भाग लिएका थिए । ६९ हजार ४११ कूल मतदाता रहेको सोलुखुम्बुमा जम्मा ४१ हजार ४५१ मत खसेको थियो । खसेको जम्मा मतमध्ये प्रनितिधिसभा प्रत्यक्षतर्फ एक हजार ८८६ समानुपातिकतर्फ चार हजार ६४९ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले जानकारी दिए ।

यस्तै प्रदेशसभा (क)मा ३७ हजार १५९ मतदातामध्ये २१ हजार ९५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८४७ र प्रदेशसभा (ख)मा ३२ हजार २५२ मतदातामध्ये १९ हजार ४९२ मत खस्दा ७४३ मत बदर भएको छ ।

यस्तै समानुपातिकतर्फ दुवै क्षेत्रका गरी ६ हजार ७६३ मत बदर भएको सहायक निर्वाचन अधिकृत वस्तीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ