arrow

ताप्लेजुङका पहिरो प्रभावितद्वारा परिचयपत्र माग

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
ताप्लेजुङ.jpg.jpeg
ताप्लेजुङ। ताप्लेजुङका पहिरोप्रभावित परिवारले पहिरोपीडितको परिचयपत्र प्रदान गर्न सरकारसँग आग्रह गरेका छन् । गत जेठमा ताप्लेजुङका विभिन्न गाविसमा गएको बाढीपहिरोबाट प्रभावित परिवारको एक समितिले परिचयपत्रको माग गर्दै आइतबार आफ्ना मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङमार्फत सरकारलाई बुझाएको छ । 
 
बाढीपहिरो गएको यतिका समय बितेपनि राज्यका तर्फबाट उल्लेख्य सहयोग नभएको भन्दै केही दिनअघि गठन भएको ताप्लेजुङ जिल्लाको संयुक्त बाढीपहिरोपीडित समितिले विभिन्न सङ्घसंस्थाबाट प्राप्त राहत गैरपीडितसम्म पुगेको गुनासो पनि गरेको छ । आइतबार बुझाइएको ज्ञापनपत्रमा उल्लेख भएअनुसार पहिरो प्रभावितलाई परिचयपत्र वितरण गर्नुपर्ने, भूकम्पपीडितलाई भन्दा बढी सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको छ । यसअघि वितरण भएका विभिन्न खाद्यान्न, नगद साथै खानेपानीको पाइप वितरण समानुपातिक नभएको साथै गैरपहिरोपीडितले धेरै पाएको समितिका सहसचिव पवन पुरीले बताए । 
 
 
यस्तै, यसअघि वितरण भएका राहत सामग्री वितरणमा भएको अनियमितताबारे पनि छानबिन गर्न उनीहरुले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । जाडोको समयमा सामान्य टहरा र आफन्तकामा बस्दै आएका पीडित परिवारलाई अहिले समस्या भएको सो समितिले जनाएको छ । विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको खाद्यान्नलगायतका सामग्री सकिँदै गएकाले थप सङ्कट आउन लागेको उनीहरुको भनाइ छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले राज्यले पुनर्वासका लागि पहल गरिरहेको भन्दै स्थानीय तहमा पनि गाविस सचिवको अध्यक्षतामा दैवी प्रकोप उद्धार समितिको गठन गर्न आवश्यक भएको बताए ।
 
गत जेठ २७ र २८ गते यस जिल्लाका आधादर्जन गाविसमा गएको बाढीपहिरोमा परी ५९ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ परिवार विस्थापित भएका थिए । विस्थापित केही परिवार अहिले आफन्तकामा बसेका छन् भने केहीले टहरा बनाएर बसेका छन् । कमाइ गर्ने खेतबारी नै पहिरोले बगाएपछि अहिले खेती गर्ने जमिन नहुँदा धेरैलाई समस्या भएको पीडितको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ