काठमाडौं । नेपाली सिनेमाका सदाबहार नायक भुवन केसी र नवनायिका माला लिम्बुको उमेरमा धेरै अन्तर छ । तर भुवन भने उनै मालासँग युवावस्था झैं रोमान्टिक मुडमा भेटिएका छन् । फिल्म भित्र रोमान्स गर्न सिपालु मानिने सुपर स्टार भुवन केसीले कहिले कहिँ वास्तविक जीवनमा समेत रोमान्स गरेको कुरा बाहिर आउने गर्छ । नायक भुवन केसीले म्युजिक भिडियोमा अभिनय नगरेको धेरै समय भैसकेको छ । तर म्युजिक भिडियोमा अभिनय गर्नका लागि भने थुप्रै प्रस्ताब आएता पनि खासै चासो नदिएका केसीले निर्देशक विधान कार्की र गायक सुजन तिमिल्सिनाको आग्रहमा यतिबेला एउटा रमाइलो गीतको म्युजिक भिडियोमा हट नायिका माला लिम्बु संग रोमान्स गर्दै दर्शक माझ देखिने भएका छन् ।
उनलाई म्युजिक भिडियोमा लिनकै लागि गायक सुजन तिमिल्सिनाले ठुलो रकम दिएको कुरा यति बेला सुन्नमा आएको छ । नायक भुवन केसीलाई भिडियोमा अभिनय गराएर आफ्नो बाल्यकालको सपना पुरा भएको बताउछन् गायक तिमिल्सिना ।
गायक सुजन तिमिल्सिनाकै संगीत समेत रहेको ‘हे कान्छी’ बोलको गीत र म्युजिक भिडियोमा भट्टीको कुरा प्रस्तुत गरिएको छ । भुपेन्द्र खड्काको शब्द रहेको यो गीतमा रुपम सिंह गुरुङको म्युजिक एरेन्ज रहेको छ भने यो गीतलाई राम्रो बनाउन ड्रिम्स स्टुडियोका प्रकाश केसीले निकै मेहेनत गरेका छन् ।
यो भिडियोमा रोमान्स गर्न मन पराउने भुवन केसीका अलावा नायिका माला लिम्बु र सुरेश पुडासैनीको समेत अभिनय रहेको छ भने प्रविन आत्रेय ,ऋषिकेश बोहोरा र संजीप पराजुलीको पनि अभिनय रहेको छ । हरि हुमागाईंको छायांकन निशान घिमिरेको सम्पादन रहेको भिडियोको यति बेला सम्पादन कार्य भैरहेको छ भने चाडै नै दर्शकमाझ आउने निर्देशक विधानले जानकारी दिए । भिडियोमा कोरियोग्राफी दीपक मदनसिंहको छ ।