arrow

गौतमबुद्ध विमानस्थल निर्माणको काम किन रोकिन्छ बारम्बार ? यस्तो छ नालीवेली

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
ariport_lumbini.JPG

काठमाडौं । भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको मुआब्जा वितरणमा पक्षपात गरेको भन्दै स्थानीयले दुईदिन रनवे निर्माणको काम ठप्प पारे ।

क्रमसंख्याको आधारमा मुआब्जा नदिएर पछाडि नम्बर भएकाहरुलाई अगाडि मुआब्जा दिएको भन्दै स्थानीयले आइतबार र सोमबार दुई दिन काम हुन दिएनन् । मंगलबार भने रनवेको काम भएको छ । मुआब्जा वितरणको काम सबै भन्दा कठिन भएको छ ।

सिद्धार्थनगरका स्थानीयले मुआब्जा वितरणमा सुधार नहुँदासम्म काममा अवरोध गर्ने चेतावनी दिएपछि आयोजना प्रमुखले जिल्ला प्रशासनमा स्थानीयहरुसँग सहमति गरेपछि अवरोध खुला भएको छ । स्थानीयले त पैँसा र पहुँच भएकाहरुलाई अगाडि मुअाब्जा दिएकाे अाराेप समेत लगाएका छन् ।

विमानस्थल आयोजनाले नापी र मालपोतको जनशक्तिको अभावले काममा ढिलाई भएको जनाएको छ । २ हजार मध्ये अहिलेसम्म ३ सय जनाले साढे तीन अरब बराबरको मुआब्जा पाएका छन् ।

मूल समस्या के हो, किन बारम्बार अवरोध हुन्छ ?
गौतमवुद्ध विमानस्थल, सुदृढीकरण कार्य (आयोजना) प्रमुख ओमनारायण शर्माले दुई दिन रनवेको काममा अवरोध आएको बताए । उनले मुआब्जाको विषयले नै समस्या आएको सुनाए । हाम्राकुरासँग उनले भने, ‘मुआब्जा वितरणलई कसरी सजिलो बनाउन सकिन्छ भन्ने विषयमा हामीले उहाँहरुलाई राखेर जिल्ला प्रशासनमा सहमति गरेका छौँ । तर, मुआब्जा वितरणमा समस्या छ ।’ मूल समस्या के हो ? जवाफमा उनले भने, ‘पाँच सय विघा जग्गामा नगरपालिकाको बाटो गएको छ । तर, त्यो बाटो पुगेको जति जग्गाको लगत कट्टा भएको छैन ।’

फिल्डमा बाटो देखिन्छ । नक्सामा छैन । त्यसको लगत कट्टा सबैभन्दा चुनौती पूर्ण छ । बाटोमा कति जग्गा गएको छ भन्ने नक्सामा छुट्टिएर देखिनु पर्दछ, उनले भनेका छन् । नापीले छिटो काम गरे दिनमा १० जनाको काम गर्न सक्छ, उनले अगाडि भने, ‘लगत कट्टाको काम गर्दा हामीकहाँबाट निवेदन नापीमा जान्छ ।’ स्थानीयले छिटो मुआब्जा खोजेका छन् । काम हुन सकिरहेको छैन । असन्तुष्टीले बारम्बार काम रोकिन्छ ।  

क्रमसंख्या अनुसार किन मुआब्जा नदिएको ?
मूल समस्या दर्शाउँदै उनले भने, ‘हामीले आयोजनाको सहजिकरणका लागि नापी र मातपोतको छुट्टै डेक्स स्थापना गर्न भनेका छौँ । अहिलेसम्म भएन । चार पाँच जना सर्वेक्षकको डेक्स खडा गरेपनि लगत कट्टा भएर एक जनाले मुआब्जा पाउन १५ दिन समय लाग्छ । त्यसमा पनि जसको कागजात छिटो टुंगियो, जसको निवेदनका कारबाही अघि बढ्यो उसले क्रमसंख्या पछाडि भए पनि मुआब्जा पाउँछ ।’ उहाँहरुको आक्रोश पनि स्वभाविक हो । तर, नापी र मालपोतको काम जसको अगाडि बढ्यो उसले रोलक्रममा पछि भएपनि मुआब्जा पाउँछ ।

कागज अड्किएकाहरुले त्यसमा असन्तुष्टी जनाउनु भएको हुन सक्छ, उनले भनेका छन् । छुट्टै डेक्स राखिदिए मात्रै काम छिटो हुने कुरा आफुले प्रधानमन्त्रीसँगको बैठकमा पनि राखेको उनले सुनाएका छन् ।

कहिले सकिन्छ मुआब्जा वितरण ?
आयोजना प्रमुख शर्माले आयोजनाको सहजिकरणका लागि मालपोत र नापीको डेक्स स्थापना भएर काम भए जेठमसान्तभित्र मुआब्जाको काम सकिने बताए । शर्माका अनुसार अब १७ सयलाई मुआब्जा दिन बाँकी छ । विमानस्थल विस्तारको ओजना भएकाले अझै मुआब्जामा २३ अरब खर्च हुने बताइएको छ । निर्माणको लागत मात्रै ६ अरब २२ करोड छ । यस्तै अन्य क्षेत्रमा छुट्टै लागत छ । उनले रनवेको काम भने धमाधम भइरहेको बताएका छन् ।

याे पनि नछुटाउनुस् :

‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अब बन्नै मुस्किल, यसरी चौपट पारिँदै’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ