के भन्दै पुगे निर्माण व्यवसायी प्रधानमन्त्री कहाँ ?
प्रकाशित २०७४ पुष ६ बिहिबार
673
Shares
काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सफल भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आभार व्यक्त गरेको छ । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले विहिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवाप्रति आभार व्यक्त गर्दै उहाँलाई विशेष धन्यवाद दिएको हो ।
विषम परिस्थितिमा पनि देउवाको कुशल नेतृत्वमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै नेपालको सविधान २०७२ पूर्णरुपमा कार्यान्वयन भएको महासंघ अध्यक्ष श्रेष्ठले बताए । अब मुलुकमा राजनीतिक स्थिरता कायम भई तीव्र रुपमा आर्थिक उन्नति हुने विश्वास महासंघले लिएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रधानमन्त्री देउवाले पनि आफ्नो जिम्मेवारीको उच्च मूल्यांकन गरिदिएकोमा महासंघ प्रतिनिधिमण्डललाई धन्यवाद दिए । प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउजा, उपमहासचिव सूर्यप्रसाद तिमिल्सना, महासंघ सचिवालयका कायम मुकायम प्रमुख प्रेमसिंह ऐर, लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइराला, नेपाल हेभि ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर, महासंघ कार्य समिति सदस्य टंक चौलागाई, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायत सहभागी थिए ।