arrow

न्यानो कपडा पाएपछि भूकम्पपीडितमा खुसीयाली

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
Gorkha_barpak_earthquake.jpg.jpeg
गुम्दा (गोरखा) । हिमपातपछिको चिसोले कठ्याग्रिङ्एका गुम्दा गाउँका भूकम्पपीडित न्यानो कपडा पाएपछि खुसी भएका छन् । भूकम्पले घर भत्केपछि गाउँबाट बिस्थापित भई स्थानीय खेतमा ६७८ टहरामा बस्दै आएका उनीहरु कम्मल, टोपी र पछ्यौरा पाएपछि खुसी भएका हुन् । स्थानीय शिक्षक सुनिल गुरुङका अनुसार दुर्गम भेग भएकाले सरकारी र विभिन्न सङ्घसंस्थाले राहत वितरणमा प्राथमिकता नदिँदा भूकम्पपीडित चिसोमा कष्टकर जीवन निर्वाह गर्न बाध्य छन् । हिमपातपछि आगो तापेर जीवन निर्वाह गर्दै आएका भूकम्पपीडितलाई असल छिमेकी पोखरा नामक संस्थाले न्यानो राहत बाँडेको हो । 
 
जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा न्यानो कपडा बितरण गरेको असल छिमेकी पोखराका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । “शिविरमा बस्दै आएका भूकम्पपीडितलाई न्यानो बाँड्यौँ”– उहाँले भन्नुभयो, “न्यानो पाएपछि भूकम्पपीडितको खुसीको सीमा नै रहेन ।” गुम्दाको सिङ्ला, यमगाउँ, लप्सीबोटलगायत ठाउँका भूकम्पपीडितलाई न्यानो कपडा वितरण गरिएको उहाँको भनाइ छ । 
 
यसअघि असल छिमेकी पोखराले बारपाकका एक हजार ४५७ घरधुरीका भूकम्पपीडितलाई न्यानो कपडा बाँडेको थियो । भूकम्पपछि बारपाक, लाप्राक, गुम्दा, लापु, उहियाँ, काशीगाउँ, केरौँजा, मान्वुलगायत क्षेत्रका भूकम्पपीडित चिसोमा कष्टकर जीवन बिताउन बाध्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ