रुपन्देहीमा उद्योग क्षेत्रमा लगानीको ठूलो सम्भावना
लगानी मैत्री बातावरण बनाउन आग्रह
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष १३ बिहिबार
235
Shares
बुटवल। रूपन्देहीमा उद्योग र पर्यटन क्षेत्रमा लगानीका लागि ठूलो सम्भावना रहेको भन्दै त्यसका लागि लगानीमैत्री वातावरण आवस्यक रहेकोमा सरोकारवालहरुले जोड दिएका छन्। उनीहरुले जिल्लामा उद्योग र पर्यटन क्षेत्रको लगानीका लागि पूर्वाधार बलियो रहेको हुँदा लगानीका लागि सबैलाई आग्रह पनि गरेका थिए।
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को अवसरमा रूपन्देही उद्योग संघले बुधबार प्रदर्शनी स्थलमा रूपन्देहीमा उद्योग र पर्यटनको सम्भावना र चुनौती विषयक एक दिने गोष्ठी गरेको छ। स्वदेशी उत्पादनको पहिचान तथा उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध बिस्तारका लागि उपभोक्ता, उत्पादक एवं विज्ञहरुलाई एउटै थलोमा राखेर छलफल गर्दा उद्योग क्षेत्रको समस्या समाधान सहयोग पुग्ने उद्देश्य राखेर गोष्ठिको आयोजना गरिएको थियो।
गोष्ठीमा बोल्ने वक्ताहरूले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र औद्योगिक लगानी भित्राउन सकेमा यस क्षेत्रको विकासले फड्को मार्ने विश्वास पनि व्यक्त गरेका थिए। गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले रूपन्देहीमा बन्दै गरेका राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको प्रक्रियासँगै आन्तरिक तथा बाह्य लगानीकर्ताहरू लगानी इच्छुक रहेको भन्दै त्यसको लागि वातावरण बनाउनुपर्नेमा जोड दिए। ‘रूपन्देही ‘पोटेन्सियल एरिया’ हो यहाँ आर्थिक समृद्धिका लागि आन्तरिक तथा बाह्य लगानी भित्राउन आवश्यक छ।’ उहाको भनाई थियो। ‘यहाँ विशेष आर्थिक क्षेत्र (सेज), विश्वलाई चिनाउने लुम्बिनी, दुई ठूला छिमेकी राष्ट्रहरूको बजार रहेकोले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न पहल गर्नु जरुरी छ।’
जिल्लामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल भैरहवा ६ लेन बाटो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुम्बिनी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत अन्य ठूलो विकास निर्माणका कार्यहरू भइरहेको भन्दै प्रदेश राजधानीका लागि पनि रूपन्देहीमा बलियो आधारहरू रहेको दावी गरे।
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै संस्कृतिविद प्रा.डा. गितु गिरीले लुम्बिनीलाई केन्द्रमा राखेर लगानी गर्न सकेमा रूपन्देही देशकै नमूना जिल्लामा बन्ने सुझाव दिदै लुम्बिनीको आसपासमा क्षेत्रहरुमा रहेको सांस्कृतिक तथा ऐतिहासिक विविधतालाई संरक्षण गर्नु पर्ने बताए। उनले विश्व मानव इतिहास बोकेको रामापिथेकसको बंगारा भेटिएको सिद्धबाबा क्षेत्र, रामग्राम, लुम्बिनी, पाल्पा लगायतका क्षेत्रमा इको टुरिज्मको विकास गरिएमा जिल्लाले आर्थिक विकासमा निकै फड्को मार्ने बताउँदै यस क्षेत्रमा चिनियाँ लगानीकर्ताहरु लगानीका लागि आतुर छन् तर त्यसको लागि बाताबरण बन्न सकेको छैन त्यसतर्फ ध्यान दिन आग्रह गरे।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले पर्यटनको विकास आफूहरूको पहिलो प्राथमिकता रहेको बताउँदै जीतगढी किल्लामा म्यूजियम, कंणेल उजिरसिंहको पूर्णकदको सालिक, हिलपार्कमा ठूलो बुद्धको मूर्ति लगायत विभिन्न पर्यटकहरू आकर्षण गर्ने गरी यस क्षेत्रको विकासमा उपमहानगरपालिका लागेको जानकारी दिए।
रूपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी मूल आयोजक समितिका संयोजक दिनेशराज रेग्मी आफूहरू स्वदेशी लगानी र उत्पादनलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धितर्फ लैजाने अभियानमा लागेको हुँदा त्यसका लागि नीतिगत स्पष्टता जरुरी बताउँदै उनले औद्योगिक पूर्वाधार बिना औद्योगिक विकासको गोरेटो कोर्न नसकिने हुँदा त्यसका लागि औद्योगिक पूर्वाधार मजबुत बनाउन राज्यसँग आग्रह समेत गरेका थिए।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बेनुराम प्रधान, बुटवल उद्योग वाणिज्य संघका उद्योग सदस्य अनुपमान सैजु, उद्योगीहरु निश्चल शर्मा, नेत्र पाठक लगायतले बोलेका थिए। संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षता, गोष्ठी संयोजक माया खनालको स्वागत तथा महासचिव माधव पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा विहीवारदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ ले ७ दिन पार गरेको छ। प्रदर्शनी अवलोकन गर्न पाल्पा, अर्घाखाची, गुल्मी, दाङ, नवलपरासी, कपिलबस्तुसंगै छिमेकी राष्ट्र भारतबाट व्यक्तिगत तथा संस्थागत रुपमा बुधवार पनि अवलोकनकर्ताहरु आएको प्रदर्शनी सचिवालयले जनाएको छ।
यसैक्रममा बुधवार पर्वत उद्योग बाणिज्य संघको टोलीले प्रदर्शनीको संस्थागत अवलोकन गरेको छ। संघका अध्यक्ष हरिओम शर्माको नेतृत्वमा रहेको २५ जनाको टोलीले प्रदर्शनीमा राखिएका उत्पादन तथा अन्य गतिविधिको जानकारी लिएको रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए। बुटवल प्रदर्शनीको २५ हजार दर्शकले अवलोकन गरेको सचिवालयले जनाएको छ।