'बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चिनियाँ नागरिक लालायित'
प्रकाशित २०७४ पुष १७ सोमबार
452
Shares
काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतका उच्च अधिकारीहरुले नेपाल चीनको पुरानो मित्र भएको बताएका छन्। नेपाल तियान्ली प्रकाशन तथा सांस्कृतिक संस्थानले आयोजना गरेको चीनको तिब्बत र नेपालबीचको सहयोगात्मक सम्बन्ध एवं चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनका उपलब्धिबारे जानकारी दिन आयोजित कार्यक्रममा उनीहरुले चीन–नेपाल सम्बन्ध अद्वितीय रहेको बताउँदै सरकारस्तरका साथै जनस्तरको दुई देशबीचको सम्बन्ध अतिसुमधुर रहेको बताए।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न अधिकांश चिनियाँ नागरिक लालायित रहेका भन्दै उनीहरुले चीन र नेपालबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्ध शताब्दीऔँदेखि प्रगाढ रहेको बताए।
तिब्बतको संस्कृति आदानप्रदान तथा वैदेशिक सम्बन्ध संगठनका निर्देशक लिउ तेइझुले भृकुटी र स्रङ्चङगम्पोको तिब्बत नेपाल सम्बन्ध बदलिँदो परिस्थितिमा अझ घनिभूत भएको र चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङ नेतृत्वको वर्तमान सरकारले पारस्परिक सम्बन्धलाई उच्च महत्व दिएको बताए।
चिनियाँ राष्ट्रपतिले नेपालसहित विश्वका सबै मुलुकको विकास हुनुपर्ने र त्यसमा चीनले सकेको सहयोग सधैँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिँदै उनले चीनले आर्थिक विकासको मेरुदण्ढमा रुपमा रहेको सढक, रेल तथा जलविद्यतका क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको बताए।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठ, नेपाल–चीन अध्ययन केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराई, नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी राजेन्द्र थापा, पूर्व सशस्त्र प्रहरी नायब निरीक्षक मोहनकृष्ण श्रेष्ठलगायतले नेपाल–चीन सम्बन्ध र चीनको स्वाशासित क्षेत्र तिब्बतसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्धको चर्चा गरेका थिए। रासस