पूँजी बजार तरलतासँगै लगानीकर्ता संघले गभर्नरसँग गर्यो समाधानका लागि आग्रह
रमेश लम्साल,
प्रकाशित २०७४ पुष १८ मंगलबार
217
Shares
काठमाडौँ । लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार मंगलवार अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ ।
कारोबार रकममा पनि आज केही वृद्धि भएको छ । सोमबार कूल १६३ कम्पनीको ११ लाख ४१ हजार ४६३ कित्ता शेयर ४९ करोड ८४ लाख ७२ हजार ३९८ मूल्यमा कारोबार भएको थियो ।
मंगलवार भने कूल १६६ कम्पनीको १२ लाख ६२ हजार ४१७ कित्ता शेयर ६३ करोड ३२ लाख २२ हजार ४१२ मूल्यमा कारोबार भएको छ । शेयर बजारको विश्लेषण गर्दै आएका जानकार नीरव पुडासैनीका अनुसार हिजो र आजको कारोबारको अवस्थालाई मात्रै हेरेर बजार सकारात्मक दिशामा अगाडि बढ्यो भन्ने विश्लेषण गर्नु हतार हुने टिप्पणी गरे।
उनले भने, “सम्पूर्णरुपमा नकारात्मक प्रवृत्ति हावी भएको बजारले सकारात्मक लय पकड्न सक्छ भन्ने संकेत चाही गरेको हो । तर दुई दिनको मात्रै हिसाब गरेर राम्रो भयो भनिहाल्ने अवस्था भने रहेको छैन ।”
मंगलवार नेप्से परिसूचक दुई दशमलव ४४ बिन्दुले बढेर एक हजार ४३७ बिन्दुमा पुगेको छ । (क) वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज एक दशमलव १४ बिन्दुले बढेको छ । बजार उकालो लाग्दा पनि तीन उपसूचकबाहेक अरु सबै उपसूचक ओरालो लागेको छ ।
बैंकिङ १० दशमलव १३, व्यापार शुन्य दशमलव शुन्य आठ र अन्य समूह चार दशमलव ३४ बिन्दुले अगाडि बढ्दा होटल ५१ द्यशमलव ५८, विकास बैंक चार दशमलव शुन्य छ, जलविद्युत् २८ दशमलव ६१, फाइनान्स दुई दशमलव ५८, बीमा ६१ दशमलव ३४, उत्पादन पाँच दशमलव ८६ र माइक्रोफाइनान्स समूह आठ दशमलव २८ बिन्दुले ओरालो लागेको छ । बजार संग्लिन थालेपछि मुनाफा सुरक्षित गर्न खोज्ने प्रवृत्ति पनि हावी भएको विश्लेषकहरुको टिप्पणी छ ।
लगानीकर्ता संघले बजारमा देखिएको अन्यौलता समाधानका लागि नियमित छलफल शुरु गरेको छ । सोमबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटवार्ता गरेको संघले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।
भेटमा सहभागी संघका सदस्य केशव भण्डारीले केन्द्रीय बैंकका गभर्नरले समस्या समाधानका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिएको बताए ।
गभर्नर नेपालले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा केही सुधार गर्नुपर्ने विषय भए त्यसलाई सम्बोधन गर्नेसमेत संघका प्रतिनिधिलाई विश्वास दिलाएका थिए ।
तरलता समाधानका लागि आज मात्रै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको थियो । परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलताका कारण उद्योग व्यवसाय, पूँजी बजारमा समेत समस्या परेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए ।
त्यसो त पूँजी बजारमा समस्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले केही सकारात्मक पहलसमेत शुरु गरेको छ । बोर्डले बजार संग्लिने भन्दै नआत्तिन र सबै खत्तम भयो भने जसरी प्रस्तुत नहुन लगानीकर्तालाई आग्रह गरेको छ ।
यस्तै शेयर कर्जालाई सहज बनाउन पनि लगानीकर्ता संघले बैंकर्स संघलाई आग्रह गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सहज बहुमत प्राप्त गरेपछि बजारमा नकारात्मक हल्ला चलेको भन्दै विश्लेषकले अतिरञ्जीत हल्ला नगर्न र बजारलाई सहजरुपमा चल्न दिनसमेत आग्रह गरेका छन् । रासस