arrow

शिखरको मेलास्थलमा फुटवेयर एशोसियसनका अध्यक्षको नेतृत्वमा हुलहुज्जत

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
shikhar-shoe.jpg

काठमाडौं। डिकुरा प्रकाशनको आयोजना तथा शिखर सुजको प्रायोजनमा भृकुटीमण्डपमा २०७४ पुष २१ गते देखि हुन लागेको विन्टर विजिनेस फुटवेयर मेलाको तयारीमा एशोसियनका अध्यक्ष सहितका पदाधिकारीहरुको एक समुहले अवरोध पुर्‍याउँदै हुलहुज्जत गरेको छ। एसोसियसनका अध्यक्ष रविन श्रेष्ठको नेतृत्वमा आएको एक समुहले आफ्नो कम्पनीको तर्फबाट गर्न लागेको मेलाको तयारीमा गरिएको अवरोधको शिखर सुजले खेद प्रकट गरेको छ। 

टेण्ट एण्ड इभेण्ट सोलुसनले भृकुटीमण्डपमा तयार गर्दै गरेको शिखरको मेलास्थलमा श्रेष्ठको नेतृत्वको टोलीले हुलहुज्जत गरि अवरोध गरेको थियो। हुलहुज्जत पछि सोलुसनले त्यहाँबाट आफ्नो सामान हटाएको छ। उसले आफ्नो सामानको क्षतिपूर्ती एसोसियसनबाट माग गर्ने भएको छ। 

आफ्नो मेलास्थलमा भएको हुलहुज्जत पछि शिखर सुजले एक विज्ञप्ती निकाली त्यसको विरोध गरेको छ। शिखरले निकालेको विज्ञप्तीको पूर्णपाठ यसप्रकार रहेको छः 

मितिः २०७४ पुष २१
प्रेस विज्ञप्ती

डिकुरा प्रकाशनको आयोजना तथा शिखर सुजको प्रायोजनमा भृकुटीमण्डपमा २०७४ पुष २१ गते देखि हुन लागेको विन्टर फुटवेयर विजिनेस मेलाको तयारीमा अवरोध गर्न भएको प्रयासप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। फुटवेयर म्यानुफ्याक्चर्स एसोशियसनको अध्यक्ष रविन श्रेष्ठको नेतृत्वमा आएको एक समुहले एशोसियसनकै सदस्य कम्पनी शिखर सुजले गरेको विन्टर फुटवेयर विजिनेस मेलाको तयारीका सिलसिलामा भएका काममा हुलहुज्जत गरि अवरोध पुर्‍याएको कुराले हामीलाई दुख लागेको छ। हामीले कल्पना समेत नगरेको कुरा स्वयं एशोसियसनको नेतृत्व सम्हालेका व्यक्तिहरुबाट भएको कुराले सिंगो व्यवसायिक जगत लज्जित हुने अवस्था सिर्जना भएको छ। 

नेपालको संविधानले राज्यको नियम कानुनको अधिनमा रहि स्वतन्त्रतापूर्वक आफ्नो व्यापार व्यवसाय गर्न पाउने अधिकारको संरक्षण र प्रत्याभुत गरेको छ। संविधानले प्रत्याभुत गरेको यो व्यवस्थाको विपरित गई एशोसियसनको मूल नेतृत्व र पदाधिकारीहरुबाट मेलास्थल भृकुटीमण्डपमा आइ गरिएको हुलहुज्जत र दुर्व्यवहारप्रति हामी खेद प्रकट गर्दछौ। 

आम उपभोक्तालाई सस्तोमा जुत्ता चप्पल उपलव्ध गराउने एवं कम्पनीको प्रवर्द्धन गर्ने उद्धेश्य राखि शिखर सुजले प्रत्येक सिजनमा विभिन्न मेलाहरु गर्दै आइरहेको यहाँहरुलाई विदितै नै छ। यसबाट आम उपभोक्ता लाभान्वित भएको हाम्रो वुझाइ छ। उपभोक्ताहरुको मागलाई मध्यनजर गरि शिखर सुजले यस्ता मेलाहरु देशका विभिन्न भागमा गर्दै आइरहेको छ। काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको मेला पनि यसैको निरन्तरता हो। 

शिखर शुजको वढ्दो लोकप्रियताबाट आत्तिएका केहि समुहहरुले केहि समययता हामीहरुलाई हाम्रै एसोसियसनको नाममा दपेट्ने प्रयास बिहिवार मेलाको स्टल राख्न नदिन गरिएको हुलहुज्जतबाट उदाङगो भएको छ। एउटा सदस्यले आफ्नो व्यापार प्रवर्द्धनका लागि गर्न लागेको मेलालाई समर्थन जनाउनुको साँटो उल्टै अवरोध सिर्जना गर्नु एसोसियसनको मर्म र उद्धेश्य विपरित भएको हाम्रो ठहर छ। 

क्रयशक्ति कम भएका आम उपभोक्ताहरुलाई प्रत्यक्ष फाइदा पुग्ने मेलाको काममा अवरुद्ध गरेर एसोसियसनले त्यस्ता उपभोक्तामाथि पनि अन्याए गरेको छ। स्वदेशी जुत्ता चप्पलको प्रयोग वढाइ आयातमा कमी ल्याउन सकिने यस किसिमका मेलामा अवरुद्ध पुर्याउनु राष्ट्रिय अर्थतन्त्रलाई कमजोर पारि वैदेशिक प्रभाव बढाउने नियतबाटै भएको हाम्रो ठम्याइ छ। यसमा एशोसियसन मुसिनु दुर्भाग्य हो। तसर्थ यस्ता गलत कार्यमा संलग्न नभइ आफ्नो व्यवसायिक धर्म निर्वाह गर्न एसोसियसनलाई यसै वक्तव्य मार्फत आग्रह गर्दछौ। 

आम नागरिकको गरिखान पाउने अधिकार र व्यवसाय गर्न पाउने अधिकारको विपरित गइ हुलहुज्जत गर्न खोजे यसको सम्पूर्ण जिम्मेवार एसोसियसन र यसको नेतृत्व हुने कुरामा एसोसियसनलाई हामी सचेत तुल्याउछौं। साथै राज्यको नियम कानुन भित्र रहि गरिएका व्यापार व्यवसायको संरक्षण र शान्ति सुरक्षाका लागि नेपाल सरकारका सरोकारवाला निकायसमक्ष हामी माग गर्दछौ। धन्यवाद। 

रामकृष्ण प्रसाई
प्रवन्ध निर्देशक
शिखर शुज



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ