काठमाडौं । उपप्रधान मन्त्री कमल थापा मन्त्रालय सञ्चालन तर्फ सबैभन्दा काम नगरेका र कमजोर मन्त्रीको रुपमा देखिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भएको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत प्रतिवेदनको आधारमा उनको मन्त्रालय पुँजीगत खर्चको आधारमा सबैभन्दा कमजोर देखिएका हुन् ।
समितिको अघिल्लो बैठक गत भदौं १९ गते बसेको थियो । सो बैठकमा विभिन्न १३ बुँदे निर्णय भएकोमा उर्जा मन्त्रालयले गर्ने भनिएको दुईकाममा एउटा पनि काम सम्पन्न गरेका छैनन् । उनले मन्त्रालयको तर्फबाट भैरहवाको बिशेष आर्थिक क्षेत्र संचालनमा आए पनि विद्युत् आपूर्ति नहुँदा उद्योग संचालन गर्न लगानीकर्तालाई समस्या भएकाले उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिई भैरहवाको बिशेष आर्थिक क्षेत्रमा दुइ महिनाभित्र विद्युत् उपलब्ध गराउने ब्यवस्था गर्न भनिएकोमा अहिलेसम्म पनि त्यसको कार्यान्वयन भएको छैन ।
कमल थापा अहिले उर्जा मन्त्री हुन् । आर्थिक वर्ष २०७४÷७५को कात्तिक मसान्तसम्मको कूल पुँजीगत खर्चको जम्मा १ प्रतिशत खर्च भएको योजना आयोगले जनाएको छ । आयोगको प्रतिवेदन अनुसार सबैभन्दा कम छ । यसरी सबैभन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालय स्वास्थ्य मन्त्रालयले १६ प्रतिशत पुँजीगत खर्च गरेको आयोगले जनाएको छ ।
यसरी पुँजीगत खर्च गर्न नसक्नुलाई मन्त्रालयमा असफलताको सूचक मानिन्छ । यही सूचकका आधारमा सबैभन्दा काम नगर्ने मन्त्रीको रुपमा कमल थापा पनि दर्ज भएका हुन् ।