काठमाडौं । ऐतिहासिक घटनाहरुलाई पृष्ठभूमी बनाएर तयार पारिएको राजनीतिक थ्रिलर फिल्म जंगे आगामी वैशाख १७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । साहस, दृढता र महत्वकांक्षाको कथा बोकेको फिल्ममा जंगेलाई खलनायक भित्रको नायकका रुपमा प्रस्तुत गरिएको छ ।
आईडियाज एण्ड ईमेजेज र अभाना प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा विभिन्न षड्यन्त्र र बाधाहरुलाई चिर्दै कसरी शासन सत्ता र शक्ति प्राप्त गर्छ भन्ने देखाइएको छ । सुसन प्रजापतिको निर्माणमा उत्कल थापाले निर्देशन गरेको फिल्म अष्ट्रेलिया, युके, अमेरिका, बेल्जियम लगायतका मुलुकमा एकैसाथ प्रदर्शन गर्ने तयारी गरिदैछ । यसको प्रिमियर अष्ट्रेलियामा हुँदैछ ।
फिल्ममा सुसन प्रजापतिको कथा, सुवास कोइराला र एमएस अग्रजको पटकथा तथा संवाद, उज्जवल ढकालको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, अल्मोडा राना उप्रेतीको संगीत र सुसनकै छायांकन छ । फिल्ममा सुरजसिंह ठकुरी, ऋचा शर्मा, अनुप बराल, दीपशिखा शाही, नरेश पौडेल, शंशांक मैनाली, प्रदिप ढकाल, सुशीलराज पाण्डे, जोयस पाण्डे, केभिन कार्की, दृश्य सुवेदीको अभिनय छ ।