arrow

नेपाल–भारत सम्बन्ध विकासमा केन्द्रित हुनुपर्ने

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
नेपाल–भारत-सम्बन्ध.jpg.jpeg
काठमाडौं । नेपाल–भारत सम्बन्ध विकासका मुद्दामा केन्द्रित हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । भारतको ६७औँ गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजले  आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल–भारतबीच जनस्तरमा रहेको सम्बन्धलाई विकासका मुद्दामा केन्द्रित गरिनुपर्ने बताए । 
 
“नेपालको विकासको अवस्था ४५ वर्ष अघि जस्तै छ, अन्य कुरालाई छोडेर अब दुई देशबीचको सम्बन्ध विकासका कुरामा जानुपर्छ”उनले भने। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दक्षिण एसिया विकासका हिसाबले विश्वमै पछाडि पर्न थालेको बताए ।उनले भने “एक्काइसौँ शताब्दीको विकास निर्माणको दृष्टिले नेपाल–भारत सम्बन्धलाई हेर्नुपर्छ । भारतले सुरक्षा नभई विकासको आँखाले नेपालको सम्बन्धलाई हेर्नुपर्छ । यही विकासमुखी राजनीति गर्न नयाँ शक्ति आएको छ ।” 
 
उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सी पी मैनालीले विकासमा भारत विश्वमै पाँचौँ छैटौँ नम्बरमा पर्ने भएकाले नेपाललाई पनि विकासको साझेदार बनाएर लैजानुपर्नेमा जोड दिए । “नेपाल–भारत शताब्दीऔँदेखि सभ्यता निर्माणमा सँगै हिँडेकाले २१ औँ शताब्दीमा विकास निर्माणको मुद्दामा पनि सँगै हिँड्नुपर्छ”उनले भने । 
 
नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारत–नेपाल सम्बन्ध व्यक्तिले नबनाएकाले कसैले बिगार्न नसक्ने बताए । “भारत–नेपाल सम्बन्धलाई अब विकास निर्माणमा केन्द्रित गर्नुपर्छ, राजनीतिक मुद्दामा एकमत नभएपनि विकासको मुद्दामा सबैको एकमत हुन्छ ।” पूर्वमन्त्री एवम् मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले नाकाबन्दी मधेसवासीले गरेकामा काठमाडौँका शासकले भारतलाई दोष लगाएको आरोप लगाए । 
 
कार्यक्रममा दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का महासचिव अर्जुनबहादुर थापा, भारतका लागि पूर्वनेपाली राजदूत प्रा डा लोकराज बराल, समाजका अध्यक्ष प्रेम लस्करीलगायतले नेपाल–भारत सम्बन्ध नयाँ आयामबाट अघि बढ्नुपर्नेमा जोड दिएका थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ