arrow

भन्सार छलेर भित्र्याइएका दुई ट्रक राजश्वको अनुसन्धानमा, के थियो सामान ?

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
biratnagar-custom-office.jpg

विराटनगर । एकसाता अगाडि प्रहरीले नियन्त्रणमा लिएर बुझाएको डब्लुबी २३ सी ००२९ र डब्लुबी २३ बी ५१५९ नम्बरको मालवहाक ट्रक भित्रको सामान हेर्न आयातकर्ताले आनाकानी गरेपछि आशंका बढेको छ ।

गलत प्रज्ञापनपत्र देखाउँदै भन्सार छलेर भित्र्याइएको आशंकामा नेपाल प्रहरीले नियन्त्रणमा लिइएर राजश्व अनुसन्धान इटहरीमा बुझाएको दुईवटा ट्रक भित्र ‘के सामान थियो ?’ भन्ने विषयसँगै राजश्व र भन्सार प्रशासनको मिलेमतो आशंका समेत बढेको छ ।

राजश्व अनुसन्धानमा बुझाइएको उक्त सामानको विषयमा विराटनगर भन्सार कार्यालय रानीका प्रमुख मिमांशु अधिकारी र राजश्व अनुसन्धान इटहरीका प्रमुख जयबहादुर भण्डारीले भने नेपाल प्रहरीको कमजोरीका कारण सामान राजश्वमा पुगेको दावी गर्दै आएका छन् ।

हरियो मटर दाना रहेको दावी गर्दै राजश्व प्रशासनले ४० लाख २६ हजार ३९२ धरौटी माग गरी चालकहरू भारत बिहारका जयनाथ साह र मो.निहाजलाई छाडेको छ । राजश्वले सामानको ३७ लाख र चालकको २३ हजारसहित ट्रकको धरौटी आयातकर्ताले बुझाएपछि चालक छुटेपनि सामान र ट्रक राजश्वकै नियन्त्रणमा छ ।

 ट्रक भित्रको सामान बारे  बुझ्दा राजश्व प्रशासनसँग हरियो दाना भन्छ भने भन्सार प्रशासनले खाद्यन्न भन्दै आएको छ ।

नेपाल प्रहरीले उक्त सामान नियन्त्रणमा लिदाँ जुन मालबहाक ट्रकको भन्सार प्रज्ञापनपत्र चाहिने हो त्यसको थिइएन । अर्कै ट्रकको प्रज्ञापनपत्र भेटिएपछि सामान नियन्त्रणमा लिइएको थियो । तर, त्यसपछि सम्बन्धित ट्रककै प्रज्ञापनपत्र लिएर क्लियरेन्स एजेन्ट एवं विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासर राजश्व पुगेका थिए । त्यो प्रज्ञापनपत्रमा हरियो दाना रहेको र भन्सार कटेको देखाइएको छ । ‘मिसप्लेस’ भएर गलत गाडीको प्रज्ञापनपत्र परेको भन्दै परासरले भोलिपल्टै राजश्वमा पुगेर कुरा मिलाएका थिए ।

प्रहरीले नियन्त्रणमा लिइएको उक्त ट्रकको सामानको दाखिला मुल्याकंन ४६ लाख बराबरको गरिएको थियो । दाखिला मुल्यांकनमा प्रहरी प्रतिनिधिको समेत संलग्नता थियो । तर, त्यसपछि दुवै गाडीको मुल्याकंन गर्दा के सामान छ भनेर राजश्व प्रशासनले ट्रक खोल्नुपर्ने भएपनि हालसम्म सामान हेर्दै नहेरी अनुमान मुल्यांकन गरि धरौटी माग गरेको छ ।

राजश्व अनुसन्धानका प्रमुख जयबहादुर भण्डारीले नेपाल प्रहरीले भन्सार तस्करीलाई खुल्ला गरेर मटरको दाना पक्रेर बुझाउँदै बहादुरी प्रदर्शन गरेको आरोप लगाए । उनले भन्सार कटेको सामान नियन्त्रणमा लिएर राजश्वमा बुझाउँदा आयातकर्तालाई समस्या परेको बताएका छन् । भन्सार कार्यालय रानीका प्रमुख मिमांशु अधिकारीको पनि भण्डारीकै जस्तो धारणा छ ।

आयातकर्ता र भन्सार क्लियरेन्स गर्ने एजेन्ट पहुँचवाला रहेका कारण नेपाल प्रहरीलाई दोष देखाउँदै सामान छोड्न भन्सार र राजश्व प्रशासनको मिलेमतो देखिएको छ । ट्रकमा छ भनिएको हरियो दाना ‘हरियो दाना’ नभएर पोस्तादाना रहेको आशंका समेत गरिएको छ । आयातकर्ताले सामान खोलेर हेर्न मानेको छैन । राजश्व प्रशासन भित्रकै कर्मचारी मनोज गौतम कन्टेनरमा रहेको सामान प्याकिङ्ग नभएको र खुल्ला रहेका कारण खोल्नै नमिल्ने अवस्थामा रहेको दावी गर्छन् ।

अवैध रुपमा भित्र्याउन खोजिएको उक्त सामान नियन्त्रणमा लिएर राजश्व प्रशासनमा बुझाएको नेपाल प्रहरी भन्सार र राजश्व प्रशासनले थोपरेको दोष सुन्दै बसेको छ । ‘हवल्दार बुद्धीले’ आफ्नो सामान राजश्वमा पुगेको आयातकर्ताको आक्रोश छ । क्लियरेन्स पार्टी भन्सार एजेन्ट संघ रानीका अध्यक्ष परासरले सामान चाँडै छुट्ने दावी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ