arrow

राष्ट्रिय सभाको चुनावबारे दलहरुसँग आयोगको छलफल, माघ १२बाट फेरि आचारसंहिता लाग्ने

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
election-comission-interaction.jpg

काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको परिणाम एवं राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीसम्बन्धमा छलफल गरेको छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन, व्यवस्थापन, मतदान र मतगणनाको प्रक्रिया, मत्रपत्रको ढाँचा, आयोगले हालसम्म गरेको तयारी र दलहरुबाट आयोगले गरेको अपेक्षालगायतका विषयमा दलका नेताहरुसँग आयोगले छलफल एवं परामर्श गरेको हो। 

दलहरुले आयोगको तयारीप्रति सन्तोष प्रकट गर्दै मतपत्र मतदातामैत्री एवं व्यावहारिक हुनुपर्ने सुझाव दिएका थिए। 

छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गले सम्पन्न गर्न दलहरूले पुर्‍याउनु भएको योगदानको प्रशंसा गरेका थिए। उनले आयोग नेपाली जनताले गोप्य मतदानबाट व्यक्त गरेको अभिमतलाई उच्च सम्मान एवं संविधान र कानुनको अक्षरशः पालना गर्दै अगाडि बढ्न दृढ सङ्कल्पित रहेको विचार राख्दै कानुनी व्यवस्था अनुसार प्रदेश प्रमुखहरूको नियुक्ति छिटोभन्दा छिटो होस् भनी औपचारिक र अनौपचारिक रूपमा सरकारको ध्यानाकर्षणसमेत गराइसकेको जानकारी दलका नेताहरूलाई गराए। 

प्रमुख निर्वाचन डा. यादवले सरकारबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भएसँगै आयोगले निर्वाचनको तयारीलाई तीव्र बनाएको र नियमावली, निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको अवगत गराए। उनले माघ ७ गते मतदाताको नामावली प्रकाशन गर्ने गरी कार्यक्रम प्रकाशित भइसकेको र प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवाहरूको घोषणा गरी विवरण प्रदेश प्रमुखलाई बुझाउन आयोग आतुर रहेको बताए। उनले नेपाल सरकारबाट प्रदेश प्रमुख नियुक्त हुने विश्वास व्यक्त गर्दै निर्धारित कार्यतालिका बमोजिम नै राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गराउन आयोग दृढ सङ्कल्पित रहेको बताए। 

यादवले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणामलाई सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन भएको हुँदा परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न आयोग तत्पर रहँदा रहँदै पनि सम्भव हुन नसकेको यथार्थता दलहरूलाई जानकारी गराए। उनले नेपालको संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) को प्रावधानले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्ये विजयी हुने उम्मेदवारहरूको नामहरू घोषणा गर्न र दलहरूलाई पत्राचार गर्न आयोग असमर्थ रहेको विचार पनि राखे। 

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आगामी शुक्रबार माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने जानकारी गराएका थिए। 

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया र तयारीबारे प्रस्तुति राखेका थिए। 

छलफलमा नेकपा (एमाले) का नेताहरु सुवास नेम्बाङ, अग्नि खरेल, नेपाली कांग्रेसका बालकृष्ण खाँड, रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिडारी, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनता पार्टी नेपालबाट महन्थ ठाकुरलगायतका नेताहरु सहभागी थिए। 

छलफलमा आयुक्तहरु नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ