arrow

 ‘हजुर, बुझायल जे हमरो सभ के याद करबाला कोई अई’

logo
गोपालप्रसाद बराल 
प्रकाशित २०७४ माघ ३ बुधबार
Dhurmus-Suntalii.jpg.jpeg

बर्दिवास ,  ‘हजुर, बुझायल जे हमरो सभ के याद करबाला कोई अई’ (हामीलाई सम्झने पनि कोही रहेछन्) । 

मंगलबार हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले पठाइदिएका न्यानो कम्बल थर्थरी कामेको हातले समाउँदै महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारको बाँतर जातिको बसोबास रहेको दलित बस्तीका ७५ वर्षीय चौठी बाँतरले भने । 

दुई साता लामो शीतलहर चारैतिर भ्वाङ परेको पराले झुप्रोमा काटेका सो बस्तीका चौठीसहितका ३१ घरपरिवार बाँतरले धुर्मुस–सुन्तलीलाई आपूmहरुलाई दुःखमा सम्झेको भन्दै मंगलबार यो जोडीको सधैँ भलो होस् भन्ने आशीष दिए । 

धुर्मुस–सुन्तलीको सौगात लिएर पुगेका सञ्चारकर्मी गोपाल बराल, विक्रम रौनियार र राजकरण महतोसँग बस्तीकी ७० वर्षीया लतियादेवी बाँतरले चिसो स्याँठले काँपिरहेको ओँठ लर्बराउँदै भनिन्, “बौवा, एत्तेक दिन भगेल, हमसभ केना छि, कोनो देख नई आयल’ (चिसो खेपेको यति दिनबीच हाम्रो अवस्था हेर्न कोही आएनन्) । 

लतियाले अगाडि भनिन्, “धुर्मुस–सुन्तली सब्के हँसबैछै, सुन्ने छली, ओ दुनु आई हमरो सभके सौगात भेज्क हँसाब के काज कैलक’ (धुर्मुस–सुन्तलीको काम नै मान्छे हँसाउने भन्ने सुनेकी थिएँ, हो रहेछ, आज हामीलाई न्यानो कम्बल कोसेली पठाएर हँसाउन चाहेछन्) ।” 

लतियाले यसो भनिरहँदा भङ्गाहा नपाका प्रमुख सञ्जीवकुमार साह र वडाअध्यक्ष अशोककुमार महतो छेउमै थिए ।

 हास्यकलाकार धुर्मुस–सुन्तलीले सञ्चारकर्मीलाई त्यहाँका बाँतरका लागि पठाउनुभएको न्यानो कम्बल तीनैजना सञ्चारकर्मीले नगर प्रमुखका हातबाट वितरण गराएका थिए । 

सो अवसरमा प्रमुख साहले हास्यकलाकार धुर्मुस–सुन्तलीको न्यानो स्नेह बस्तीका बासिन्दा र आपूmहरुले कहिल्यै नबिर्सने बताए । सो बस्तीमा ३१ घरपरिवारलाई न्यानो कम्बल बितरण गरिएको हो । 

मंगलबार नै धुर्मुस–सुन्तलीले बर्दिवास–१ स्थित एकीकृत नमूना मुसहर बस्तीका ५० घरपरिवारलाई पठाएको न्यानो कम्बल सञ्चारकर्मी बराल र महतोले वितरण गरेका छन् । 

यसैबीच, नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले पनि मंगलबार नै भङ्गाहा नपा–४ रामनगरको मुसहर जातिको बसोबास रहेको दलित बस्तीका ३९ परिवारलाई ओढ्ने कम्बल, न्यानो कोट, जुत्तासहितका सामग्री वितरण गरेको छ । 

रेडक्रस बर्दिवास उपशाखाका सुमन भुजेल, मुकुन्द पौडेल र दीपेन्द्र पराजुलीले सो बस्तीमा पुर्याएका यी सामग्री भङ्गाहाका प्रमुख साहले नै ३९ मुसहर परिवारलाई हस्तान्तरण गरे । 

महोत्तरीमा पछिल्लो पटक गत पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ बहिरहँदा गरिब र दलित बस्तीका बासिन्दा बढी प्रभावित देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ