काठमाडौं । प्रदेश राजधानीको विषयलाई लिएर अहिले मुलुक अस्तव्यस्त बनेको छ । शान्त केवल प्रदेश नम्बर ४ छ । त्यसबाहेक आन्दोलन चर्किएका छन् ।
उच्चतहका नेतादेखि कार्यकर्ता मर्न र मार्न देखिएजस्ता लाग्छन् । बिहीबारको दिनलाई मात्र मुल्यांकन गर्ने हो भने प्रदेश राजधानीका लागि जस्तोसुकै कदम उठाउन कार्यकर्ताहरु उद्दत देखिएका छन् ।
नेताहरु पनि सकेजति र आएजति गाली बाहिर निकालिरहेका छन् ।
अर्थात् आफ्नो वैचारिक स्तरअनुसार र हैसियतअनुसार आरोप प्रत्यारोप चलिरहेको छ ।
आगोमा घिउ छर्किने काम नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरिसकेका छन् ।
एक हप्ता लामो बैंकक बसाइपछि बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनासाथ उनले भने, ‘प्रदेश प्रमुख र प्रदेश राजधानीबारे चित्त बुझेको छैन, फेर्न पनि सकिन्छ ।’
सबैभन्दा ठूलो दलको प्रमुख नेताले त्यसरी बोलेपछि के चाहियो र । अझै उफ्रिन थालेका छन् नेता तथा कार्यकर्ता ।
प्रदेश ७ को राजधानी दिपालय नबनाई धनगढी बनाइएको भन्दै दिपालयमा त काँग्रेस नेताहरुले धमाधम पार्टी छोडेका छन् ।
प्रदेश १ को राजधानी धनकुटा नभएसम्म आमहड्ताल नरोकिने गरी कडा आन्दोलन चर्किएको छ । विराटनगर स्वीकार्य भएको छैन ।
प्रदेश २ को राजधानी वीरगञ्ज नभएसम्म बन्द गर्ने उद्घोष पर्साका राजनीतिकर्मीको छ ।
प्रदेश ३ को राजधानी हेटौंडा अव्यवहारिक भएको भन्दै भक्तपुरमा आन्दोलन चर्किदै छ ।
प्रदेश ५ को राजधानी दाङ नबनाएसम्म जनप्रतिनिधिलाई बन्दी बनाएर राख्ने भन्दै त्रास फैलाइएको छ ।
अहिले तोकिएको अस्थायी राजधानी हो र राजधानी तोक्दैमा जनताका अधिकार खोसिने हैनन् गाउँगाउँमै अहिले जनताका काम हुन्छन् भन्ने कुरा नेताहरुले सिकाएनन् । नेताहरुले आफूले पनि सिकेका छैनन् ।
किन मच्चियो त हडताल ?
जसरी अहिले आन्दोलन चर्किएको छ यही गतिले अगाडि बढ्ने हो भने धेरैको ज्यान जाने छ । फाइदा कसलाई ?
सुशासनका लागि लड्दै आएका अभियन्ता केदार खड्काले फेसबुक स्टाटस लेखेका छन् ‘आ–आफ्नो जिल्ला प्रदेश राजधानी हुन्छ भन्दै जग्गा दलाली गर्दै आएका तर देउवाले राजधानी अन्यत्रै तोकिदिएपछि रन्थनिएका त्यस्ता दलालहरुको उक्साहटमा तोडफोड, आगजनी र हुलदंगामा युवा उत्रनु किमार्थ सुहाएन है !’
खड्काको विचारमा दम छ । अहिलेको आन्दोलन केवल जग्गा दलालीकै हो । माफियाकै हो । यसलाई बन्द गरौं । मन्थन गरौं । व्यवहारिक बनौं ।
राजनीतिमा धेरै लगानी भयो । त्यसबाट उपलब्धि कम भएको छ ।
एकपटक फेरि सोचौं । स्वार्थ त्यागौं । के सरकार यसबारे गम्भीर छ ? आगो निभाउने काम त अन्ततः सरकारकै हो ।
फेरि भनिन्छ राजनीति दलालहरुले नै चलाउने गर्छन् । सबैभन्दा फाइदामा अहिले जग्गा दलाल छन् । उनीहरुले जस्तोसुकै जग्गालाई पनि सुन फलाउने जग्गा बनाएका छन् ।
फेरि प्रदेश राजधानी कहाँ राख्ने भनेर नेताहरुको भन्दा पनि यिनीहरुकै चल्ने हो । दलालले नै प्रदेश राजधानी तय गरिरहेको भन्दै पार्टीभित्रसमेत चर्चा भइरहेको छ ।