- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला नामिबियामा छ । टोलीले बिहिबारदेखि सुरु हुने विश्व क्रिकेट लिग डिभिजन २ का लागि आफूलाई निखार ल्याउँदै छ ।
नेपाल निकै दबाबमा भए पनि अभ्यास भने जमेरै गरेको छ । नेपालले नामिबिया जानुपूर्व युएईमा युएई ए संग तीन अभ्यास खेल खेलेको थियो । जहाँ नेपालले २ खेल जित्दा १ खेल हारेको थियो ।
नेपालले अभ्यास गर्न यसपटक कुनै कसर बाँकी नराखे पनि दबाब भने निकै छ । अर्थात् नेपाली क्रिकेटको भविष्य बिहिबारदेखि नै तय हुनेछ ।
यही प्रतियोगिताले नेपालको चारवर्षे अन्तर्राष्ट्रिय क्रिकेटको खाका कोर्नेछ ।
नेपाल यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष चारमा पर्न नसकेपछि घटुवा भएको छ ।
घटुवा भएका नेपालसहित केन्या, यूएई र नामिबिया तथा डिभिजन ३ का शिर्ष दुई टोली ओमान र क्यानाडाबीच अहिले प्रतिस्पर्धा हुन लागेको हो ।
यो प्रतियोगितामा भने नेपालले जमेर खेल्नु पर्नेछ । किनकि शिर्ष दुईमा पर्ने टिमले मात्र अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउने छन् ।
च्याम्पियनसिपका पछिल्ला ६ खेलमा नेपालले एकमात्र जित हात पारेकाले पनि नेपाललाई चुनौती बढी छ ।
नेपालको अभ्यास र खेल स्तर हेर्दा नेपालसंगै झरेका बाँकी तीन टिममात्र हैन डिभिजन २ मा आएका ओमान र क्यानाडा पनि उच्च स्तरका छन् ।
नेपालबाट युएई जाँदा नै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भनेका थिए, ‘यो प्रतियोगिता महत्वपूर्ण हो भन्ने हामीलाई थाहा छ त्यसैले कुनै पनि कमजोरी अगाडि पर्न दिन्नौं ।’
टमाटाले भनेजस्तो खेलाडीले राम्रो प्रदर्शन गरे भने नेपालले लगातार दोस्रो पटक विश्वकप छनोट खेल्न पाउने छ ।
यसअघि पनि नेपाल सजिलै विश्वकप छनोटमा पुगेको अवश्य हैन ।
के छ त नेपालको तागतिलो स्थिति ?
नेपालको सबैभन्दा ठूलो तागत यतिबेला सन्दीप लामिछाने हुन् । उनी इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्न पाउने भएपछि सबैको ध्यान उनीमाथि नै हुने भएको छ ।
अन्य राष्ट्रका खेलाडीहरुका लागि सन्दीप भारी हुन सक्छन् । उनी दिल्ली डेयर डेभिल्सबाट खेल्दैछन् ।
नेपाली टिममा युवा जोश कायम छ । अनिल शाह र रोहित पौडेल पहिलोपल्ट राष्ट्रिय टोलीमा रहेकाले उनीहरु प्रदर्शन हेर्न लायक हुने नै छ ।