पाल्पा । पाल्पाको तानसेनमा करोडौंको लगानीमा होटलहरु खुल्ने क्रम बढेसँगै जिल्लामै पहिलो पटक लिफ्ट प्रविधि जडान सहितको आधुनिक सुविधा सम्पन्न होटल ताज सञ्चालनमा आएको छ ।
जिल्लाको मुटुको रुपमा मानिने तानसेनको टुँडिखेल छेउमै होटल ताज सञ्चालनमा आएको हो । १६ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको होटल २४ सै घण्टा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सञ्चालक मुक्ति (माधव) जिसीले बताए । जिल्लामा बर्षेनि करोडका लगानीमा होटलहरु सञ्चालनमा आए पनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकरुहको सेवा सुविधा अनुरुप होटल नहुँदा पर्यटकहरु पोखरा, काठमाडौं जान बाध्य भएकाले ति पर्यटकहरुको सेवा सुविधालाई मध्यनजर गरि होटल ताज सञ्चालनमा ल्याएको पनि सञ्चालक जिसीले बताए ।
उनले भने सानो क्षेत्रमा पनि संभावना रहेकोले यसलाई अवसरमा परिणत गर्न ताज सञ्चालनमा आएको हो । होटलमा फरक पहिचान , फरक स्वाद सेवा सुविधाको व्यवस्थापन गरिएको म्यानेजर देबेन्द्र खड्काले बताए । होटलले ५० जना लाई रोजगारीको अवसर समेत प्रदान गरेको छ । सुविधा सम्पन्न १५ कोठा सहितको होटलमा डिलक्स रुमहरुमा हनिमुन स्वीटको सुविधा, पाल्पालाई चिनाउने रानीहल, एसियाकै सवै भन्दा ठुलो ढोका सहितका बेड, स्थानीय परिकारको स्वादमा अण्डर ग्राउन पार्कीङ्ग, सभाहल, टिभी, फ्रि वाईफाई अनलाईन बुकिङ्ग, २४ सै घण्टा रुम सर्भिस, टुर प्याकेज,चिसो तातो पानी, लगायतका प्रशस्त सेवा सुविधा रहेको म्यानेजर खड्काले बताए ।
होटलको बुधवार शाईन रेसुङ्गा डेभलपमेण्ट बैंकका सिओ प्रकाश पौडेललेले उद्घाटन गरेका छन् । होटलको उद्घाटन गर्दै पौडेलले जिल्लाको आर्थिक विकासमा होटलले महत्वपूर्ण भु्मिका खेल्ने भएकाले यो कोसेढुङ्गा सावित हुने बताए । उनले होटल ताजले बैंकलाई लगानी गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । उनले भने यस्तो लगानीले नयाँ लगानीको संभावना भएकाले आर्थिक समृद्धि हुने बताए ।
कार्यक्रमा पाल्पा उद्योग बाणिज्य संघ अध्यक्ष मोहन प्रसाद श्रेष्ठले होटल ताजले जिल्लाको पर्यटन र आर्थिक क्षेत्रको विकासमा ठूलो भूमिका खेल्ने बताए । तानसेनमा झण्डै आधा दर्जन ठूला लगानीका नयाँ होटलहरु सञ्चालनमा आएका छन् । यस क्षेत्रमा बर्सेनि करोडौंका लगानीमा होटल खुलेपछि सुविधा सम्पन्न होटलको समस्या टर्दै गएको हो ।
पाल्पा भौगोलिक बनावट र हावापानीका दृष्टिले नमुना शहर भएकाले विदेशी पर्यटक साथै बुटवल,भैरहवा,पोखरा, नेपालगञ्ज, काठमाडौं, लगायतका सहरबाट घुमफिर गर्न, सेमिनार तथा गोष्ठी सञ्चालनका लागि यहाँ आउने गरेको होटल व्यवसायीहरु बताउँछन् । यसरी आन्तरिक तथा बाह्य पर्यटकहरु बढी आउने भएकाले होटल व्यवसाय फस्टाएको सम्वन्धीत व्यवसायीहरु बताउँछन् ।