नेपालको विश्वकप छनोट खेल्ने सम्भावना बढ्यो, युएईमाथि ४ विकेटको जित (फोटोफिचरसहित)

सोमबार नेपाल र केन्या भिड्दै

प्रकाशित मिति : २०७४ माघ २८ आइतबार , ४,०८९ पटक हेरिएको
तस्वीर – रमन शिवाकोटी

काठमाडौँ । नेपालले ३ खेलमा २ जित निकाल्दै विश्वकप एक दिवसीय छनोट खेल्ने सम्भावना बढेको छ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । 

जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । 

आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए । 

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो । 

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए । 

पारस म्यान अफ द म्याच भए । 

नेपालले यसअघि नामिबियालाई हराउँदा ओमनसंग पराजित भएको थियो । 

नेपालले चौथो खेलमा सोमबार केन्यासंग खेल्नेछ । 

६ टिमले सहभागिता जनाएको प्रतियोगितामा क्यानडा तीन खेलमै जित हासिल गरेर ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकबाट दोस्रो स्थानमा छ । 

केन्यालाई पराजित गर्न सके थप सुरक्षित हुने थियो । 

शीर्ष दुई टिमले विश्वकप छनोट खेल्न पाउने छन् । 

नयाँ