arrow

एनसेलको टावरमा अज्ञात समूहले लगायो आगो

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
ncell-tower.jpg

नुवाकोट । विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको छ । 

साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । 

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । 

एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ । 

रोल्पा–सोमबार राति माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । 

राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए । 

ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् । 

बम विस्फोटको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन । 

राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यस पटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने शंका गरिएको छ । 

फागुन १ को पूर्वसन्ध्यामा घटना भएकाले राजनीतिक उद्देश्यले गरिएको आक्रमण हुन सक्ने अनुमान गरिएको छ । 

विसं २०५२ साल फागुन १ गते शुरु भएको सशस्त्र युद्धको सम्झनास्वरुप माओवादी घटकहरुले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेका छन् । 

नेकपा माओवादी केन्द्र निकट वाइसिएलको आयोजनामा सदरमुकाम लिवाङमा कार्यक्रम सम्पन्न भएको छ भने नेकपा थवाङ गाउँपालिकाको आयोजनामा थवाङमा सप्ताहव्यापी कार्यक्रम भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ