विरेन्द्र फुलबारीको संरक्षणमा जुट्यो पाल्पा उद्योग वाणिज्य संघ
पाल्पा
प्रकाशित २०७४ फागुन २ बुधबार
322
Shares
पाल्पा । जिल्लाका उद्योगी तथा व्यापारीहरुको साझेदारी संस्था पाल्पा उद्योग वाणिज्य संघ यतिखेर व्यापारीहरुको हित र संरक्षण भन्दा माथी उठेर जिल्लाको सामाजिक, आर्थिक विकासमा समेत लागेको पाइन्छ । अरुको आशा र भरोसा पर्खेर बस्ने सरकारी निकायलाई गतिलो जवाफ दिन निजी क्षेत्रको कार्य अनुकरणनीय र सहनीय बन्न पुगेको छ ।
जुन पछिल्लो समयमा तानसेनको पर्यटन विकासमा थप टेवा पुर्याउने उद्देश्यले ३४ वर्ष अगाडि तानसेन नगरपालिका कार्यालय अगाडि निर्मित विरेन्द्र फुलबारी अस्तव्यस्त अवस्थामा रहँदा समेत सम्वन्धित निकायनै मौन बसिरहेका बेला निजि क्षेत्रको रुपमा रहेको संस्था पाल्पा उद्योग वाणिज्य संघले त्यसको संरक्षण र संवद्र्धनमा लागेको छ ।
२०३७ सालमा नगरका तत्कालिन प्रधान पञ्च विन्दु प्रसाद नेपालीले आफ्नै रेख देखमा निर्माण गराएको फुलबारीको तत्कालिन प्रधानमन्त्री सूर्य बहादु थापाले उद्घाटन गरेका थिए । फुलबारीमा ३० प्रकारका गुलाफका फुल रोपण गरिएको थियो । काठमाण्डौंका कालिगडले तत्कालिन स्व राजा विरेन्द्रको सालिक निर्माण गरेका थिए । विगतका पुस्ताले सबैकालागि सदाकालागि निर्माण गरिएको सार्वजनीक सम्पदाका रुपमा रहेको फुलबारीमा रोपण गरिएका गुलावका फुल पानी मल नपाएकै कारण मरिसकेका छन् ।
फुलबारीका कम्पाउण्डका पर्खाल राजनैतिक पार्टीका नारा लेखन गर्ने व्यानर बनाउने ठाँउ बनेको छ । त्यसैगरि २०६२ माघ १८ गते तत्कालिन नेकपा माओवादिले तानसेन आक्रमण कार्यक्रममा विरेन्द्रको सालिकमा लागेको गोलिले बसेको दाँग हालसम्म जस्ताको त्यस्तै हुनु सिंगो फुलवारीको सौन्दर्य माथी प्रश्न चिन्ह उठेको छ । फुलवारीको व्यस्थापन तथा सुधारका लागि नगरपालिका जिल्लाविकास समिति राजनैतिक दल र डलरको खेतीबाट पर्यटन नामको खेती गर्ने संघसंस्था स्थानिय वासिन्दा लगायतको चौतर्फीक व्यवास्ताका कारण फुलबारी खण्डहरमा परिणत हुनपुगेको हो ।
पाल्पा उद्योग वाणिज्य संघले टुँडिखेलमा आयोजना गर्ने महोत्सवबाट केही रकम छुट्याएर यस पार्कको संरक्षणमा खर्च गर्ने योजना अनुरुप आफुहरुले काम गरेको संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए । उनले भने ‘हामीले मालपाए पनि चाल पाउन नसक्दा पर्यटनको विकासमा फड्को मार्न सकेका छैनौं । अब यस फुलवारीलाई संरक्षण र संवद्र्धन गरि जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुर्याउन सकिन्छ भनि सिंगो उद्योग वाणिज्य संघका साथीहरु लागेका छौं ।’
फुलवारी पार्क भित्र रङ्गरोगन, दुवो लगाउने, सय प्रजातिका फुलहरु रोपण लगायतका कामहरु सकिएको छ । संघको दश लाख रुपैया लागतमा फुलवारी निमार्ण भइरहेको संघले जनाएको छ । जिल्लालाई दिर्घाकालिन पर्यटनको रुपमा अगाडी बढाउन संघले आफ्नै लगानीमा दुई जना मालिको व्यवस्था गरि आन्तरिक तथा बाह्य पर्यटकलाई टिकट काटी पार्कको अवलोकन गर्ने व्यवस्था समेत मिलाउने संघका अध्यक्ष श्रेष्ठले बताए ।
फुलबारीको व्यवास्थापन गरीएको खण्डमा जिल्लाको आम्दानिको दिगो स्रोत र वलियो माध्यम वन्ने भएपनि त्यस तर्फ ध्यान नदिदाँ प्रतिदिन कुरुप बन्ने गरेको तानसेन आउने पर्यटकहरुले बताउने गर्छन् । पर्यटकहरुको पाल्पा झरेपछि पहिलो गन्तव्य टुँडिखेल बन्ने भए पछि फुलवारीको यस्तो अस्तव्यस्त अवस्था देखेपछि तानसेन नगरपालिकामा सुन्दर फुलवारी भए पनि माल पाएर ताल नपाए जस्तो भएको छ उनी यस्तै अभिव्यक्ति दिने गर्दछन् ।
अत्यन्तै सुन्दर फुलबारी खण्डहरमा परिणत भएकै कारण रेलिङ्गमा खिया लागिसकेको , फुलबारी नै छेक्ने गरि दिनहु अव्यवस्थीत तवरले पार्किङ गरिएका सवारीका साधनहरुले फुलवारि नै कुरुप बनेको स्थानिय वासिन्दा ले आरोप लगाउदै आएका थिए । हरियाली सहित विभिन्न किसिमका गुलाबका फुलले कसको मन लोभ्याउदैन ? विगतमा अत्यन्त सुन्दर थियो हरेक दिन दुई पटक फुलमा सिंचाइ गर्ने व्यवस्था थियो ।
संरक्षण गर्ने हेरचाह गर्ने व्यक्तिपनि थिए तर २०४६ सालको राजनैतिक परिवर्तन संगसंगै फुलबारी को व्यवस्थापनको जिम्मेबारीबाट नगरपलिका पन्छिएको स्थानिय बासीन्दाहरु बताउँछन् । कमजोर संरचना भएका अन्य शहरका फुलबारीबाट नगरपलिकाले वार्षिक रुपमा लाखैं रुपैया आम्दानी गर्ने वलियो र भरपर्दो माध्यम बनेका छन् तर यहाँ बलियो पूर्वाधार भएपनि संरक्षण गर्न तर्फ पहल नभएका कारण पर्यटकीय नगर तानसेन पर्यटन विकासमा पछि पर्ने अवस्था आएको हो ।
यसै कुरालाई मधयनजर राख्दै उद्योग वाणिज्य संघले जुन किसीमको कार्य गरिहेको छ त्यस प्रति स्थानीवासीहरुले सहनीय कार्यको रुपमा लिएका छन् । उद्योग वाणिज्य संघको यस कार्यलाई सम्पूर्ण तह तप्काबाट सहयोग भएको खण्डमा जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ ।