के हुन् प्रधानमन्त्री ओलीका आर्थिक चुनौती, के भन्छन्–डा. नेपाल (अन्तर्वार्ता)
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
777
Shares
अर्थविद् डा. गोविन्द नेपालले विद्यमान अर्थ व्यवस्था सुधार गर्न तीनवटा मुख्य चुनौति रहेको बताएका छन् । व्यापार घाटा कम गर्न र रोजगारी सिर्जना गर्न सके देशको आर्थिक वृद्धिमा टेवा पुग्न डा. नेपालको सुझाव छ । नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आर्थिक चुनौति के हुनसक्छन ? भनि हामीले डा. नेपालसँग कुरा गरेका छौँ ।
० नयाँ प्रधानमन्त्री ओलीका आर्थिक चुनौति के हुन ?
– वर्तमान सरकारको सम्मुख तीन प्रकारका चुनौति विद्यमान छन् । एउटा आर्थिक चुनौति जुन अहिलेसम्म सम्बोधन हुन सकेको छैन । दोस्रो चुनौति निवर्तमान सरकारले थपिदिएको आर्थिक दायित्व हो । तेस्रो आफै घोषणापत्रमार्फत वाम गठबन्धनले आफूलाई दिएको चुनौति छ । यो तीन प्रकारको चुनौति अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने छ । त्यसमध्ये आफूले आफूलाई दिएको सबैभन्दा ठूलो चुनौति हो । वाम गठबन्धनको घोषणापत्र छ, त्यसमा समयबद्ध लक्ष्यहरु छन्, त्यसलाई पूरा गर्नुपर्ने छ । दोस्रो ठूलो चुनौति भनेको अर्थव्यवस्थामा जुन किसिमको विद्यमान चुनौति छन्, ती विद्यमान समस्याहरुलाई सम्बोधन गर्नुपर्ने छ । निवर्तमान सरकारले थोपरेको जुन आर्थिक दायत्व छ, त्यसबारे निर्णय गर्नुपर्ने छ ।
० यो चुनौति पार गर्न सहज छ ?
– यो सरकारले समृद्धिलाई हिम्मतका साथ अगाडि सारेको छ, यो सरकारले झन्डै दुईतिहाइ प्राप्त गरेको छ । वाम गठबन्धनको एकतालाई मजबुत आधार दिएको छ । यी सबै कुरा र जनताको समर्थनका कारणले यी चुनौतिहरुको यो सरकारले समयबद्ध ढंगले सामना गर्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ ।
० सँगसँगै समयबद्ध कार्ययोजना चाहियो होइन ?
– हो, अहिलेको सबभन्दा ठूलो चुनौति भनेको श्रोत र साधनको व्यवस्थापन हो । राजस्वले ७–८ खर्बको मात्रै व्यवस्थापन गर्न सकेको छ । १ खर्ब मात्रै हामीले वैदेशिक सहयोग उपयोगमा ल्याउन सकेका छौं । आन्तरिक ऋण पनि निश्चित सीमाभित्र राख्नुपर्ने हुन्छ । तर खर्चको हिसाब हेर्ने हो भने करिब करिब १३ खर्बको बजेट छ । यो बजेटको आकार निश्चिय नै बढछ । कुन श्रोतबाट खर्च हुने हो, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्ने हुन्छ । तीन तहको सरकार छ, त्यहाँ घोषणापत्रको कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
० दीगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय दबाबलाई अबको विकास निर्माणमा समायोजन गर्नुपर्छ ?
– वाम गठबन्धनको घोषणापत्र कार्यान्वयन गर्ने सवालमा कतिपय दीगो विकाससँग सम्बन्धित योजनाको सम्बोधन छ । दीगो विकाससँग सम्बन्धित योजनाहरु घोषणापत्रमा प्रतिविम्बित भएका छन् । यो सरकारले बनाउने कार्यक्रमहरुमा पनि ती कुरा समेटिनुपर्छ । दीगो विकास कार्यक्रमले रोकमुक्त, गरिबीमुक्त समाज र वातावरणका समस्यालाई सम्बोधन गरेको समाज, पूर्वाधार सिर्जना भएको समाज, असमान आयलाई सम्बोधन गरेको समाज र श्रोत र साधनहरु जनतालाई उपलब्ध गराइको अवस्था छ ।
वाम गठबन्धनले जसरी मुलुकको रुपान्तरण गर्न चाहेको छ, तिनीहरुसँग धेरैजसो मिल्छ । त्यसकारण यी कुरा सम्बोधन भएर जान्छ । प्रतिव्यक्ति आय हाम्रो उच्च भएको छैन, अहिले ८ सयको हाराहारीमा छ, हजार वा ११ सयको हाराहारीमा पुग्नुपर्छ । अहिले हाम्रो पूर्वाधार, उत्पादन, आम्दानी र रोजगारीका आधारहरु बलियो बनाउनुपर्छ ।
० व्यापार घाटा कम गर्ने र स्वदेशमा रोजगारी सिर्जना गर्नु अहिलेको मुद्दा होइन ?
– यो नै अहिलेको प्रमुख मुद्दा हो । रोजगारीको सिर्जना गरेर कसरी नेपालमै जनशक्ति उत्पादन क्षेत्रमा रोजगार बनाउने र मुलुकको समृद्धिमा नेपालका युवाहरुलाई कसरी आकर्षित गर्ने भन्ने प्रमुख चुनौतिको विषय हो । अहिले व्यापार घाटा मात्र नभएर भुक्तानी सन्तुलन समेत बिग्रन थालेको अवस्था छ । त्यसले गर्दा यो गम्भीर विषय भएको छ । यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ । यसलाई सम्बोधन गर्न पनि योजनाबद्ध तरिकाबाट जानुपर्ने हुन्छ । पहिलो चरणमा हामीले आयात प्रतिष्ठापनमा जोड दिनुपर्ने हुन्छ । आयातभन्दा निर्यात हाम्रो हातमा बढी हुन्छ ।
० आयात प्रतिस्पाथन र रोजगारी प्रति व्यक्ति आयसँग जोडिएको कुरा हो ?
– यी कुरा स्वतः प्रतिव्यक्ति आयसँग जोडिन्छ । दीगो रोजगारीले उत्पादनका क्रियाकलाप बढाउँछ । जसले गर्दा व्यक्तिको परिवारको आम्दानी बढ्छ ।