बागलुङ । रोजगारीको लागि बिदेशिएका यहाँका युवा समाज सेवामा सक्रिय भएका छन । लाखौ खर्चेर रोजगारीका लागि विभिन्न मुलुक पुगेका युवाहरुले आफ्नो आर्थिक समृद्धिसँगै समाजको काममा पनि सघाउँदै आएका छन ।
बागलुङ नगरपालिका १३ बास्कोटका शिव प्रसाद रिजाल आफु पढेको स्कुल भनेपछि हुरुक्क हुन्छन । उनि रोजगारीको शिलशिलामा अफगानिस्तानमा रहेका छन । आफु विदेशिनु परे पनि भावी पिँढीले गाउँमै राम्रोसँग पढ्न पाउन भन्ने उनको चाहना छ । उनले आफुले पढेको जनमत माविलाई १ लाख ५२ हजार ५ सय १ रुपैयाँ सहयोग प्रदान गरेका छन ।
आफ्नो गाउँमा रहेको विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्नका लागि विदेशमा रहेका स्थानियहरुको विद्यालयलाई ठुलो सहयोग हुँदै आएको छ । शिव त एउटा उदारणीय पात्र मात्रै हुन स्थानिय नारायणदत्त रिजाल हाल लण्डनमा छन उनले विद्यालयका लागि १ लाख ५१ हजार १ रुपैयाँ सहयोग प्रदान गरेका छन । त्यसैगरी कतारमा रहेका रमेश भट्टले विद्यालयको शैक्षिक उन्नतीका लागि १ लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन । यहाँका दर्जन भन्दा बढि युवाहरुले समाजको हरेक क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्दै आएका छन ।
विद्यालय स्थानियहरुको सहयोगमा नै संचालनमा रहेको छ । विदेशमा रहेका युवाहरुबाट मात्र यस वर्ष ११ लाख ५८ हजार १ सय ९७ रुपैया सहयोग प्राप्त भएको विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले बताए । गाउँबाट विदेशिएका युवाले विद्यालयलाई ठुलो गुन लगाएका छन । रिजालले भने ‘सबैको सहयोगले विद्यालयमा माध्यामिक तहको कक्षा संचालन गर्नका लागि सहज भएको छ’ । । विद्यालयले ३७ औं बार्षिक उत्सवको अवसरमा सहयोग संकलन अभियान समेत संचालन गरेको थियो ।
२०६६ सालबाट माध्यामिक तह संचालन भएको विद्यालयमा सबै तहमा अंग्रेजी माध्ययमबाट पठपाठन हुँदै आएको छ । विद्यालयमा ७ जना शिक्षकलाई निजी श्रोत बाट नै मासिक तलब प्रदान गरिएको प्रध्यानध्यापक रिजालले जानकारी दिए । यहाँका युवाहरु साउदी अबर, दुवई, कोरीया, कतार, मलेसिया, अमेरीका, बहराईन जापान लगायतका मुलकमा छन । विद्यालयलाई केही समस्या परे स्थानिय समुदाय र विदेशमा रहेका युवाहरुलाई गुहार्ने गरेका छन ।
शैक्षिक उन्नतीको लागि स्थानियहरुले अग्रसर रहेको र विद्यालयलाई जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित गराउने उद्देश्य रहेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष नरप्रसाद शर्माले बताए । विद्यालयमा माध्यामिक तह संचालन नहुँदा स्थानिय विद्यार्थी घण्टौं हिडेर त्रिभुवन माविमा जानुपर्ने बाध्यता थियो । गाउँमै माध्यामिक तह संचालन भएपछि त्यहाँका विद्यार्थीहरु घरमै आठोपिठो खाएर पढने मौका पाएका छन ।
यहाँका युवाहरु शैक्षिक क्षेत्रमा मात्र हैन अन्य सामाजिक कार्यमा पनि सहयोग गर्दै आएका छन । स्थानिय गणेश मन्दिर पुर्ननिर्माणका लागि पनि विदेशिएका युवाहरुबाट ठुलो रकम सहयोग भएको छ । रोजगारीको शिलशिलामा जापानमा रहेका नेपालीबाट मन्दिर पुर्ननिर्माणका लागि १ लाख ८५ हजार रुपैँया संकलन गरी पठाएका छन । गाउँको सम्पदाको संरक्षणका लागि आफुहरुले कमाएको केही रकम सहयोग स्वरुप पठाएको बलेवा समाज जापानका महासचिव टिकाराम रिजाल (बिमल) ले बताए । उनिहरुले समाजका हरेक क्रियाकलापमा सहयोग गर्दै आएका छन । जिर्ण मन्दिर पुर्ननिर्माणका लागि बैदेशिक रोजगारीमा गएका बाट ५ लाख ५० हजार भन्दा बढि रकम संकलन भएको थियो । हामीले अभियान नै थालेर रकम संकलन गरौं पुर्ननिर्माण समितिका सचिव दिनेश रिजालले भने विदेशमा रहेका दाजुभाईको उल्लेखनिय भुमिका रहिरहेको छ ।
जिल्लाका अन्य स्थानमा पनि विदेशमा रहेका युवाहरुबाट समाजका हरेक गतिविधिलाई सहयोग हुने गरेको छ । जिल्लाको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई गलकोट समाज जापान बाट एम्बुलेन्स नै खरिद गरेर हस्तान्तरण गरे । केही समय पहिले उक्त संस्थाले बृहत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको थियो । विद्यालय, खानेपानी, यातायात, स्वास्थ्य क्षेत्र लगायत अन्य सामाजिक क्षेत्रमा युवाहरुको निकै ठुलो सहयोग हुँदै आएको छ । उनिहरुले विपतको बेला र महंगो खर्च लाग्ने रोग बाट पिडितहरुलाई उपचारको लागि पनि राहत प्रदान गर्ने गरेका छन । जिल्लाबाट प्रवासमा रहेका नेपालीहरुले विभिन्न सम्पर्क समाज गठन गरी आफ्नो गाउँ ठाउँका हरेक क्रियाकलापमा सहयोग गर्दै आएका छन । विदेशमा रहेर समाजको विकासका लागि उल्लेखनीय भुमिका निर्माण गर्नका लागि यहाँका युवाहरु सफल भएका छन ।