- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जिम्बाबेमा हुने आर्इसिसी विश्वकप छनोट क्रिकेटको पहिलो वार्मअप खेलमा नेपालले चिरपरिचित प्रतिद्धन्द्धी युएईलाई ५ विकेटले हराएको छ ।
ब्याटिङ्गमा समस्या खेप्दै आएको नेपालको मध्यक्रमको ब्याटिङ चलेपछि १७२ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छँदै पूरा गरेको हो ।
शरद भेषावकरले ५४ बलमा नटआउट ४१ तथा दीपेन्द्र सिंह ऐरीले ३२ बलमा ४१ रन बनाए पछि नेपाल सहजै बिजय भयो ।
त्यस्तै आरिफ शेखले १५ बलमा नटआउट २३ रन जोडे । नेपालको ओपनिङ पार्टनरसिप भने अझै जम्न सकेको छैन ।
यसअघि वर्षाले २९ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको युएईले २८.५ ओभरमा अलआउट हुँदै १७१ रन बनायो ।
अस्फाग अहमदले ४२ रन बनाए । ललित भण्डारीले ४, करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए ।
नेपाल र युएई वल्ड क्रिकेट लिग डिभिजन टु बाटै विश्वकप छनोट खेल्न पाएका हुन् ।
नेपालले उपाधि भिडन्तमा युएईसंग ७ रनको तितो हारको सामना गर्दै जिम्बावेको टिकट काटेको थियो ।
नेपालको दोस्रो तथा अन्तिम वार्मअप बिहिबार हङकङसंग हुनेछ ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ ।
नेपालको समुहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।
नेपालको असली भिडन्त भने ४ मार्चबाट सुरु हुनेछ । नेपालको पहिलो खेल आयोजक जिम्बावेसंगै हुनेछ ।
यसअघि विश्वकप छनोटको ट्रफी सार्वजनिक भएको छ । हरारेमा आयोजित एक विशेष समारोहबीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका थिए ।