काठमाडौं । तात्कालिन पञ्चायती शासन बिरुद्ध आन्दोलन गर्दा राज्यपक्षको शिकार भएर झापाको सुखानीमा सहादत प्राप्त गरेकाहरुको कथालाई अब फिल्ममा देख्न पाईने भएको छ । दिपेन्द्र दाहालको निर्देशनमा तयार भएको यो फिल्म‘सुखानी साहदत’को प्रचार सामग्री र गीत आईतबार राजधानीमा एक समारोह बीच लोकार्पण भयो ।
सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले सुखानी साहदतका गीति एल्बम र प्रचार सामग्री (पोष्टर) बिमोचन गर्दै भने,‘ हिजोका जहानीय शासन, पाञ्चायत शासन बिरुद्ध सहादत प्राप्त गर्नु भएका तिनै सहिदहरुको योगदानका कारण आज हामीले गणतन्त्र र नयाँ सँविधान पाएका हौं । अब हामीले ती सहीदहरुको सपना साकार गर्न पर्ने छ ।’
कार्यक्रममा सुखानी सहीद स्मृति प्रतिष्ठानका महासचिब हर्कराज राईले त्यतिबेला सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन्द्र सिंह राजबँशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठले साहदत प्राप्त गरेको जानकारी दिँदै उनीहरुको योगदान बारे प्रकाश पारे । कार्यक्रममा सहीदको महत्व बारे प्रधानमन्त्रीका सञ्चार सल्लाहकार देबेन्द्र दाहालले जानकारी गराए ।
सुखानीमा पाँच व्यक्तिले साहदत प्राप्त गरेको तिथि २१ फागुनमा यो फिल्मका राजधानी र मोफसलका केही हलमा विशेष प्रदर्शनी गरिने यसका निर्देशक दिपेन्द्र दाहालले जानकारी गराए । यो फिल्ममा तीन ओटा गीत छन् । निर्देशक दाहालले लेखेको यो गीतमा जुगल डँगोलको सँगीत र राजेश पायल राई, निशा देशार, केञ्जुमा सुब्बा, रामकृष्ण दुवाल, सानुबाबु महर्जनको स्वर छ ।
माधव पौडेल र कविता आले मगरले निर्माण गरेको फिल्ममा उपेन्द्र तिमिल्सिना, शुशिल पोखरेल, अञ्जु निरौला, प्रकाश धिताल, कविता आले, इश्वर बल्लभ जोशी, सुदीप कुँवर, लक्ष्मी चौधरी सहितको अभिनय छ । रत्न कार्कीको छायाँकन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, गोबिन्द प्रभातको नृत्य निर्देशन रहेको यो फिल्म आगामी बैशाखबाट प्रदर्शनी गरिने भएको छ ।