- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको विश्वकप एक दिवसीय क्रिकेट खेल्ने सपनामा लगभग पूर्णविराम लाग्ने देखिएको छ ।
जिम्बावेमा जारी विश्वकप छनोटमा लगातार तेस्रो हार बेहोरेसंगै नेपालको विश्वकप खेल्ने सपना कठिन बनेको हो ।
तेस्रो खेलमा नेपाल शनिबार प्रतिद्धन्द्धी अफगानिस्तानसंग ६ विकेटले पराजित भयो ।
बुलावायोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनायो । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ९२ रनको साझेदारी भयो । पारसले ८२ बलमा ७५ तथा ज्ञानेन्द्रले ६९ बलमा २३ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले ४१ बलमा ३२ तथा आरिफ शेखले ३६ बलमा २३ रन बनाए । त्यस बाहेक अरु खेलाडीको ब्याटिङ चलेन ।
मोहम्मद नाबीले ४ तथा रसिद खानले ३ विकेट लिए ।
प्रत्युत्तरमा उत्रिएको अफगानिस्तानले सजिलो चुनौती सजिलै भेट्टायो ।
अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेटको नोक्सानीमा विजय लक्ष्य भेट्टायो ।
नेपालका लागि दीपेन्द्र सिंहले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट झारे ।
यसअघि नेपाल जिम्बावे र स्कटल्याण्डसंग पराजित भएको थियो ।
अन्तिम खेलमा नेपालले सोमबार हङकङसंग खेल्नेछ । नेपाल मात्र अहिलेसम्म सबै खेलमा पराजित हुने टिम बनेको छ ।
हङकङ तेस्रो खेलमा जिम्बावेसंग हार नजिक पुगेकाले नेपाल र हङकङबीचको खेल महत्वपूर्ण रहेको छ ।
त्यो खेलमा नेपालले २ अंकमा रहेको हङकङमाथि विशाल अन्तरको जित हासिल गरेमात्र सुपर सिक्समा पुग्न सक्नेछ ।
स्कटल्याण्ड र जिम्बावे नेपालको समुहबाट सुपर सिक्समा पुगेका छन् भने हङकङ, अफगानिस्तान र नेपालमध्ये एक टिम सुपर सिक्समा पुग्नेछ ।