- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कम्युनिष्टहरु कस्तो समाज बनाउन चाहन्छन् भनी प्रश्न गर्ने हो भने ट्रेडमार्कका रुपमा जवाफ आउँछ –समावेशीता ।
तर कसैले कहिल्यै कुरा उठाएन कि व्यवहारिकतामा कम्युनिष्टहरु के चाहन्छन् ?
नीति र व्यवहारिकतामा तालमेल नमिलेकै कारणले गर्दा एमाले र माओवादीको भनाइ र गराइमा अन्तर आउँदै गएको छ ।
एमालेका नेताहरु माले भएताका भन्ने गर्थे –बाहुनले नेतृत्व लियो भन्ने हुन्छ भनेरै हाम्रा केही कमरेडले अन्तर्जातिय विवाह गर्नुभएको छ ।
व्यक्तिगत जीवनलाई नाटकीय रुप दिँदैमा समग्र पार्टी चल्दैन । विपक्षमा बस्दा सरकारलाई गाली गर्ने अनि सत्तामा गएपछि समावेशीताको शब्द समेत उच्चारण गर्न डराउने प्रवृति कायमै छ ।
एमालेका एक विद्धान (वलिकसमेत) नेताको अहिले राष्ट्रपति बन्ने ठूलो धोको थियो । उनको चाहना अन्तिम समयमा आएर तुहियो ।
अर्थात् सभामुख भइसकेका सुवास नेम्वाङको प्रधानमन्त्री पाउने सम्भावना थिएन । विकल्पका रुपमा सम्माननीय पद बाँकी थियो राष्ट्रपति ।
उनको लबिङ पनि चलिरहेको थियो । तर राष्ट्रपतिका लागि विद्यादेवी भण्डारी नै उपयुक्त देखिइन् ।
प्रतिस्पर्धीका रुपमा अन्तिम समयमा देखिए झलनाथ खनाल । त्यसपछि एकाएक उब्जिएको छ समावेशीको प्रश्नचिन्ह ।
नेकपा माओवादी केन्द्रको रोग पनि त्यस्तै हो । समावेशीता केवल भन्नेकुरा न हो ।
अहिलेका संवैधानिक निकायका प्रमुख अंगहरुमा एमाले र माओवादीका नेताहरु छन् ।
उनीहरु समावेशीमा अट्न सकेका छैनन् । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म अनि प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षसम्म समावेशी तालमेल मिलेको छैन ।
हुनत प्रधानमन्त्रीको पदलाई छाडेर बाँकी पदमा समावेशीका लागि दावेदारी नभएको होइन । तर अन्तिम समयमा आएर त्यसलाई लत्याइएको हो ।
समावेशी चाहनेले पनि पार्टीमा अग्रसर भएर नेतृत्वलाई भन्न नसक्ने र गुटबन्दीमा रमाउँदा यो समस्या झनै विकराल बनेको छ ।
मुख्यमन्त्रीमा पनि त्यही रोग देखिएको छ । सात मुख्यमन्त्रीमा मुस्किलले प्रदेश ३ मा महिला दावेदारी रहेको थियो । तर अष्टलक्ष्मी शाक्य एमालेको नेतृत्वबाटै चिप्लिइन् ।
अष्टलक्ष्मी एमालेकी केन्द्रीय उपाध्यक्ष भएकाले पनि उनी प्रदेश सांसदमा लडिन् । उनी सुरुआतदेखि नै मुख्यमन्त्रीको प्रचारमा थिइन् ।
अन्तिम समयमा चुनाव नै गर्नुपर्यो त्यो पनि एमालेभित्रै । यसरी समावेशीतालाई एमालेले नराम्ररी कुल्चियो ।
संघीय समाजवादी फोरमका एक नेताले हाम्रकुरासंग भने ‘अस्तित्व नै सिध्याउन लागेकाले पार्टी छाड्नु परेको हो ।’
उनको यो भनाइ बुझ्नेहरुका लागि काफी छ । एमाले र माओवादी समानताका कुरा गर्छन् । अनि ती कुरैमा सीमित हुन्छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच धेरै समानता छ । ‘भन्ने एउटा गर्ने अर्को । अनि एकताका कुरा ।’
दुवै नेता पाएसम्म बाँचुन्जेल पार्टीको प्रमुख बन्ने चाहना राख्ने खालमा देखिएको उनीहरुकै पार्टीका दोस्रो तहका नेताहरुको गुनासो आएको छ ।
स्वभाविकै हो, राजनीति अर्काका लागि गरिँदैन । तर दोस्रो तहका नेताहरु चिढिनु पनि स्वभाविकै हो । किनकि उनीहरुलाई पनि अवसर चाहियो नि ।
जेहोस्, राजनीति र व्यवहारनीति एउटै बनाउन सकेको भए कम्युनिष्ट शाख पनि बढ्ने थियो ।