arrow

२० वर्ष पूराना गाडी हटाउने निर्णय लागू, पहिलो दिन ६२ गाडी जफत

पर्यटक चढेको गाडी पनि भेटिए २० वर्ष पूराना

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ चैत १ बिहिबार
purano_gadi.JPG

काठमाडौं । यातायात व्यवस्था विभागले विहिबारबाट २० वर्ष पूराना सार्वजनिक सवारी साधन चलाउन नदिने नियम लागू गरेको छ ।

नियम लागू भएकै दिन विभागले देशभरबाट ६२ वटा सार्वजनिक सवारी साधन जफत गरेको छ। अब ति गाडी प्रक्रिया पुर्‍याएर लिलाम गरिने छ, विभागका सूचना अधिकारी तुलसीराम अर्यालले भने, ‘ट्राफिक प्रहरीको सहयोगमा जफत गरिएका गाडी यातायात कार्यालयमा राखिएको छ ।’ उनका अनुसार काठमाडौं उपत्यकाबाट भने एउटा पनि गाडी जफत भएनन् ।

मुलुक संघीय संरचनामा गएपनि सवारी दर्ता भने पूरानै छ। जसअनुसार मेचीमा १, गण्डकीमा ७, नारायणीमा १५ (सबै विक्रम टेम्पु), लुम्बीनीमा एउटा जीप, जनकपुमा ५, सेतीमा २२ सवारी जफत भएको विभागले जनाएको छ । यस्तै अन्य क्षेत्रमा पनि गाडी जफत भएका छन् ।

पर्यटक चढेको बस पनि फन्दामा
२० वर्ष पूराना सार्वजनिक भाडाका सवारी गुड्न नदिने विभागको अभियानका क्रमा पर्यटक बोक्ने गाडी समेत २० वर्ष पुरानो फेला परेको छ । गण्डकीमा पर्यटक चढेको गाडी नै जफत भएपछि पर्यटकले बिच बाटोबाट अर्को गाडी चढ्नु परेको थियो । एउटा गाडी होइन । पर्यटक चढेको २ वटा गाडी नै २० वर्ष पूरानो परेछ ।

काठमाडौँ चार ठाउँमा चेकजाँच
अभियानको पहिलो दिन काठमाडौका चार ठाउँमा चेकचाँज भएको छ । काठमाडौं प्रवेश गर्ने नागढुंगा, यस्तै दक्षिणकाली, भक्तपुरको जगाती र नयाँ बसपार्कमा चेकजाँच टोली खटियो । यातायात विभागका प्रतिनिधि र ट्राफिक विहान ७ बजेबाट बेलुकी ६ बजेसम्म बसे । अब टोलीहरु बढाउँदै लैजाने बताइएको छ।

विभागले सवारीधनीलाई फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ बुझाउन भनेको थियो । २०७२ चैत १ गते बसेको मन्त्रिपरिषद बैठकले २० वर्ष पूराना सार्वजनिक सवारी साधन रोक लगाउने निर्णय दुई वर्षपछि कार्यान्वयनमा आएको छ । तर, व्यवसायीले भने विभागलाई निर्णय सच्याउन भनिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ