धनगढी, १८ माघ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचनका लागि सरकारले प्रारम्भिक गृहकार्य सुरु गरिसकेको बताए ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका थापाले जिल्ला विकास समिति र नगरपालिकाको आर्थिक वर्ष २०७२÷०७३ को सुदूरपश्चिमाञ्चलस्तरीय अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै चाँडै स्थानीय निकायको निर्वाचन हुन लागेकाले सवल र सक्षम स्थानीय निकाय जनप्रतिनिधिलाई सुम्पिने व्यवस्था अहिल्यैदेखि गर्न कर्मचारीलाई निर्देशन दिए ।
संविधान जारी भइसकेपछि मुलुकको ध्यान अब आर्थिक विकास र समृद्धितर्फ जानुपर्ने बताउँदै उनले भने “स्थानीय निकायद्वारा हुने विकासका काम पनि आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ ।” मधेसमा जारी आन्दोलनतर्फ लक्षित गर्दै उपप्रधानमन्त्री थापाले मधेसमा उठेका माग राजनीतिकरुपमा सम्बोधन गर्न सत्तापक्ष र प्रतिपक्ष तयार रहेकाले आन्दोलन नलम्ब्याई वार्ताद्वारा समस्या समाधानमा जान आग्रह गरे ।
संविधान जारी हुँदादेखिनै अशान्ति र आक्रोस स्वभाविक भएकाले यसबाट कसैले पनि विचलित हुनु नहुने उनले बताए । कार्यक्रममा सहभागी सुदूरपश्चिमका स्थानीय विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतले अर्धवार्षिक प्रगति, देखिएका समस्या र आगामी योजनामाथि प्रकाश पारेका थिए । यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले तय भइसकेको प्रधानमन्त्रीको भारत भ्रमण नरोकिने बताए ।
आज गेटा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले सीमा क्षेत्रमा उत्पन्न पारवहन र आपूर्तिको समस्या अन्त्य भइसकेको दाबीसमेत गरे । आन्दोलनरत पक्षका कारण वीरगन्ज र रक्सौल नाकामा पारवहन र आपूर्ति समस्या अझै जारी रहेको भएपनि अरु नाकामा समस्या समाधान भइसकेको थापाको भनाइ छ ।