काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताका लागि पार्टीका उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो समितिमा अर्का उपाध्यक्ष निरञ्जन थापा, महामन्त्रीद्वय धवलशम्शेर राणा र राजेन्द्र लिङ्देन तथा सहप्रवक्ता मोहन श्रेष्ठलाई सदस्यको जिम्मेवारी दिएको छ । बैठकले आउँदो फागुनभित्रमा पाँचै विकास क्षेत्रमा हिन्दूत्व जागरणसभा गर्ने निर्णय गरेको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा सहभागीले पार्टी लिएका नीति तथा सिद्धान्तका बारेमा जनतामा आशङ्का बढेकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक कार्यक्रम लिएर जनतामा जानुपर्ने सुझाव दिएका थिए । बैठकमा पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले सरकारले जनताको अपेक्षानुसारको कार्य पूरा गर्न नसकेको स्विकार्दै आगामी दिनमा जनतालाई परिवर्तनको अनुभव हुने गरी आर्थिक तथा सामाजिक रुपान्तरणका कार्य गरिने बताए ।
यसअघि नै राप्रपाबाट सो पार्टीका महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा पार्टी एकताका लागि समिति गठन भइसकेको छ ।