arrow

क्यानको निर्वाचन मार्चमा नहुने, कार्यसम्पादन समितिले मिति तोक्ने

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
ICC-and-CAN-new-FNL-.jpeg.jpeg

काठमाडौं । नयाँ विधान बमोजिम बनेको नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति बैठकले निर्वाचनको मिति तोक्ने जिम्मा कार्यसम्पादन समितिलाई दिने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले चलिरहेको अंग्रेजी मार्च महिनाकाे २० तारिखभित्रै क्यानको साधारणसभा गर्न भनेकामा सबै विषयहरु कानुनी रुपमा मिलाउनु पर्ने भएकाले मिति तोक्ने र साधारण सभाको सूचना जारी गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिने तयारी गरिएको हो । नयाँ विधान अनुसार बनेकाे १७ सदस्यीय कार्यसमितिले अाइतबार यसबारे छलफल गरेकाे छ ।

निर्वाचित क्यानका अध्यक्ष चतुबहादुर चन्दले भने, ‘कार्यसमितिका सबै सदस्यहरु बसेर छलफल गरेका हौँ । विधान संशोधनका केही विषयहरु अझै टुंगिएका छैनन् । साधारणसभा बोलाउने सम्बन्धमा कार्यसम्पादन समितिलाई जिम्मा दिनेबारे छलफल गरेका छौँ । त्यसलाई अन्तिम रुप दिन फेरि बस्ने कुरा भएको छ ।’  

विधानमा फेरि के कुरा मिल्न बाँकि छ ? जवाफमा उनले भने, ‘सदस्यता कसलाई दिने कसलाई नदिने भन्ने कुरा मिलेको छैन । हामीले पहिले जिल्लामा दुई कार्यकाल खाएकाहरुलाई सदस्यता दिने भनेका थियौँ । अहिले दुई कार्यकाल पूर्ण खाएका भनिएको छ । त्यो पूर्ण भनेको कति भन्ने कुरा स्पष्ट भएन । पूर्ण कार्यकाल केलाई भन्ने निर्वाचित कार्यकाल भन्ने वा तदर्थ समितिको कार्यकाल पनि जोड्ने भन्ने यकिन भएन ।’

हामी त बढी समय तदर्थ समितिमै चलेको हो , उनले अगाडि थपे, ‘त्यसो हो भने त, दुई कार्यकाल पूर्ण खाएका जिल्लामा मुस्किलले एक दुई जना भेटिएलान् । हाम्रै साथीहरु पनि कतिपयको एक कार्यकाल मात्रै भएको छ । उता तदर्थ समिति सम्हालेका साथीहरुको पनि पूर्ण दुई कार्यकाल पुग्दैन ।’

यो कुरा आइसीसीले प्रष्ट्याओस् भन्ने छ, चन्दले अगाडि भने, ‘हामी आइसीसीसँगको समन्वयमा छौँ । उसले साधारणसभा चाँडो भन्दा पनि भोलि कुनै कानुनी जटिलता नआउने गर भन्ने आयश व्यक्त गरेको छ । हामीले केही पनि गरिरहेका छैनौँ भन्ने होइन । हामी निरन्तर परामर्शमा छौँ ।’

अहिले ३७ जिल्लाको निर्वाचन फेरि गराइएको छ । एकाध जिल्लामा विवाद हुने देखिएपछि आइसीसीको निर्देशनमा रोकिएको छ । चन्दले अर्को कुरा पनि भनेका छन् । उनले क्यानको साधारणसभा मार्चमा हुँदैन, भने । किन हुँदैन मार्चमा ? जवाफमा उनले भने, ‘विधानमा भएका धेरै कुरा मिलाउन बाँकी छन् । हतार गर्दा भोलि फेरि भद्रगोल हुन्छ । काम फत्ते होस् भन्ने हेतुले हामी निरन्तर लागिरहेका छौँ । कार्यसम्पादन समितिलाई महत्वपूर्ण जिम्मेवारी मिलेको छ । सहयोग चाहिए हामी ४८ घण्टाभित्रमा कार्यसमितिको बैठक बोलाउन सक्छौँ ।’ हामीले विभिन्न एजेण्डामा छलफल गरेका छौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ