arrow

जाने हैन आज एयरपोर्ट नेपाली टिमलाई स्वागत गर्न ? 

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
nepal4.jpg

काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हासिल गरेको नेपाली क्रिकेट टिम आज (सोमबार) साँझ नेपाल फर्किँदैछ । 

जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगितामा सफलता हासिल गर्दै चार वर्षका लागि एक दिवसीय मान्यता लिएर नेपाली टिम साँझ ५ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्दैछ । 

प्रतियोगिताको प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै चार वर्षका लागि एक दिवसीय मान्यताको टिकट सुरक्षित गर्न सफल भएको हो । 


के हुन्छ त आज विमानस्थलमा ? 
अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको नेपाली टिमलाई स्वागत गर्न सबै लालायित छन् । 

कप्तान पारस खड्काको नेतृत्वमा सफलता चुमेको नेपाली  टिमलाई स्वागत कसरी गर्ने भन्नेबारे सरकारले कुनै निर्णय गरेको छैन । 

नामिबियामा भएको डिभिजन टु पछि सरकारले हतारहतार गर्दै खेलाडीहरुलाई जनही तीन तीन लाख रुपैयाँ बाँडेको एक महिना पनि पुगेको छैन । 

त्यसैले तत्काल सरकारले रकम नै बाँड्ने सोंच बनाएको छैन । खेलाडीलाई स्वागत भने भब्य बनाउने बुझिएको छ । 

पहिलो पटक मन्त्री भएपछि खेलकुदको औपचारिक कार्यक्रमका रुपमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा पनि नेपाली टिमको स्वागत गर्न जानेछन् । 

त्यसैगरी राष्ट्रिय खेलकुद परिषदका  सदस्यसचिवदेखि पदाधिकारी, निलम्बित नेपाल क्रिकेट संघका पदाधिकारीहरु, क्रिकेटप्रेमीहरु, संचारकर्मी लगायतको उल्लेख्य सहभागीता हुनेछ । 

सामाजिक संजालहरुमा ‘नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न जाने होइन ?’ भन्ने सन्देशसमेत दिन थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ