arrow

बलेवा बिमानस्थलमा परिक्षण उडान, चैत्र ९ देखी नियमित हुने

logo
नारायण रिजाल,
प्रकाशित २०७४ चैत ५ सोमबार
Biman_(1)1.jpg

बागलुङ, दुई दशक भन्दा बढी समयदेखी बन्द रहेको जिल्लाको बलेवा विमानस्थलमा सोमवार परिक्षण उडान गरिएको छ ।  नेपाल नागरिक उड्ययन प्राधिकरणले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको  बिमानस्थलमा नियमित उडान गर्ने सबैजसो तयारी सकिए पछि परिक्षण उडान गरेको हो ।

प्राधिकरणका कर्मचारी र प्राविधिक सहित तारा एयरको १८ सिट क्षमताको ९ एन एकेएल बिमान अवतरण हुँदा बलेवा बिमानस्थल आसपासमा जम्मा भएका स्थानीय र जिल्ला सदरमुकामबाट पुगेका जनप्रतिनिधि सहितको टोलीले फुलमाला सहित ताली बजाएर स्वागत गरेका थिए ।

परिक्षण उडान पछि तत्काल बिमान सञ्चालनमा समस्या नरहेको पाइलट प्रभाकरप्रसाद घिमिरेले बताए । ‘तारा एयरको बिमानबाट चार पटक परिक्षण उडान भर्‍यौ,’ उनले भने, ‘बिमानस्थल आसपासका रुखहरु काटिए पनि केही ठाउँमा आधा भाग काटिएको छ,  त्यसलाई पुरै काट्नुपर्छ, रन–वेमा पानी परेको अवस्थामा केही खतरा हुन सक्ने देखिएकाले त्यसलाई कालोपत्रे गरेर कम्तिमा दुई वटा बिमान पार्किङ गर्ने स्थल बनाउन आवश्यक छ ।’ नियमित बिमान सञ्चालनमा आए बलेवादेखी काठमाण्डौं सम्म ४५ मिनेटमा पुग्न सकिने छ भने पोखरा हवाई मार्गबाट जम्मा ८ मिनेटमा पुगिनेछ ।

२०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ बर्षदेखी बन्द भएको थियो । पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि २०४८ सालदेखि विमान आउने क्रम रोकिएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गरिए पनि प्राधिकरणले यात्रुको सुनिश्चितताको लिखित प्रतिवद्धता मागे पछि त्यसले सार्थकता पाउन सकेको थिएन । २६ बर्षदेखी बन्द भए पछि बिमानस्थल गौचरणमा परिणत भएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण पोखराका निर्देशक भोलाप्रसाद चौलागाईले परिक्षण उडान गरिएको प्रतिवेदन प्राधिकरणमा तत्काल बुझाइने बताए । ‘बिमानस्थल सञ्चालनको सबैजसो तयारी पछि नियमित उडान सम्भव देखिएको छ’ निर्देशक चौलागाईले भने, ‘प्रतिवेदन अध्ययन पछि नागरिक उड्ययन प्राधिकरणले नियमित उडान तालिका र भाडादर निर्धारण गर्नेछ ।’

बिमानस्थल सञ्चालनका लागि बागलुङ नगरपालिका र नागरिक उड्ययन प्राधिधकरण बिच सहमति भए पछि स्थानीय बासिन्दाले बिमानस्थल आसपासकका ७ सय भन्दा बढी रुख काटेका छन् । आगामी चैत्र ९ गतेबाट नियमित बिमान चलाउने तयारीमा रहेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । यात्रुको सुनिश्चितता, सडक, अन्य भौतिक पूर्वाधार र रुखहरुका कारण दुई दशक बढी समयदेखी ठप्प बनेको बिमानस्थल सञ्चालन गर्न नगरपालिकाले यात्रुको सुनिश्चितता प्रदान गर्ने सहमति गरेको छ ।

 जस अनुसार पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको बिमानले हप्ताको दुई पटक एक÷एक उडान भर्नेछन् ।  उडानका लागि बागलुङ नगरपालिकाले वलेवा देखी काठमाडौं सम्मका लागि १२ जना यात्रु सुनिश्चत गरिदिने सहमति भएको नगर प्रमुख पौडेलले बताए । ‘यात्रु संख्या पु¥याउने नगरपालिकाले जिम्मा लिएको छ’ उनले भने, ‘यदि १२ जना यात्रु नपुग भएमा त्यो रकम नगरपालिकाले व्यहोर्नेछ ।

प्रतिनिधि सभाका सदस्य डा.सुर्य पाठकले तत्कालका लागि नगरपालिकाले ठुलो जोखिम मोलेर बिमानस्थल सञ्चालन गर्न लागिए पनि दिगो सञ्चालनका लागि बिमान प्रयोग गर्ने र यहाँ सम्म आउने बातावरण तयार गर्नुपर्ने बताए । ‘यो भार सधै नगरपालिकाले बेहोरिरहन सक्दैन, छिमेकी जिल्ला गुल्मीका मानिसहरु पनि बिमान चढ्न भैरहवा पुग्छन्, अब तिनीहरुलाई पनि कालिगण्डकी करिडोरको स्तरोन्नति गरेर बलेवा बिमानस्थल आउने बातावरण तयार गर्नु आवश्यक छ, त्यसका लागि हामी थप पहल गर्छोै ।’ बलेवा बिमानस्थलबाट नियमित उडान भएमा बागलुङ जिल्लाका साथै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ र गुल्मीका जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । यसको आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि छिटो छरिटो आवत जावतमा सहज हुनेछ ।

विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । विमानस्थल सम्म पुग्ने सडक कच्ची भएकाले यसको स्तरोन्नति र अन्य पूर्वाधारका लागि तीब्र रूपमा काम अघि बढाउने नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले बताए । सदरमुकाम देखि आठ किमीको दूरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । उक्त सडकलाई यथाशक्य कालोपत्रे गर्न सम्बन्धित निकायसँग समन्वय र छलफल भइरहेको खड्काले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ