विराटनगर । उपप्रधानमन्त्री एंव मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी मोर्चाले आन्दोलनको नाममा बन्द हड्ताल तथा नाकाबन्दी गरेर तराई मधेशका जनतालाइ दुख दिने काम गरिरहेको बताएका छन् । विराटनगरमा पार्टीको मोरंङ, सुनसरीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले संविधान संसोधनसंगै मधेशी मोर्चाको राजनितिक माग सम्बोधन भएकाले अब आन्दोलन गरेर जनतालाइ दुख नदिन आग्रह गरे ।
मन्त्री गच्छदारले आन्दोलनले मात्रै समस्याको समाधान नहुने भएकाले सिमाङ्कनको विषयलाई छलफल र वार्तावाटै समाधान गर्न मोर्चा लचिलो हुनुपर्ने बताए । उपप्रधानमन्त्री गच्छदारले भने, ‘यदी मधेसको मुद्दा राजनीतिक हो भने, बन्द हडताल छाडेर राजनितिक तवरबाटै यसको समाधान खोज्नु पर्दछ ।’
गच्छदारले आफनो पार्टी सबै जातजातीको हक अधिकारका लागि सरकारमा गएकाले अधिकार प्राप्तिका लागि आफु कसैसंग नझुक्ने बताए । नयाँ संविधानले सवै जातजातीको हक अधिकारलाई सम्वोधन गरेकाले सबैलाई संविधान कार्यान्वयमा लाग्न आग्रह गरे । उपप्रधानमन्त्री गच्छदारले पूर्वमा एउटा प्रदेश थप गरी आठ वटा प्रदेश बनाएर सिमाङ्कनको विवाद टुंग्याउन सकिने बताए । मोरंङ, सुनसरी, झापा, सिराहा, सप्तरी , उदयपुर सहित ६ वटा जिल्लालाई मिलाएर एउटा प्रदेश बनाएर आठ वटा प्रदेश कायम गर्न सकिने बताए । ६ वटा जिल्ला मिलाउदा ४० लाख जनसंख्या पुग्ने भएकाले ती जिल्लालाई मिलाएर एउटा प्रदेश बनाउन सकिने मन्त्री गच्छदारको धारणा छ ।