रुकुम। नेपाली काँगेसको यही माघ २५ गते हुने छैटौँ जिल्ला अधिबेशनको माहौल तातिरहेको बेला काँग्रेस नेताहरु आफ्नो पोल्टामा नेतृत्व हात पार्ने दाउमा छन। यसका लागि बिभिन्न तहबाट बिभिन्न खाले आँकलन गरिएको छ। केन्द्रको माहौल र कार्यकर्ताहरुको चहलपहलका आधारमा सर्वसम्मत नभए सभापतिका लागि प्रेमप्रकाश ओली, कृष्णबहादुर रोकाय, तिलक भण्डारी र लक्षिराम घर्ती सभापतिको दाउमा छन्। अन्तमा तिलक र लक्षिरामले प्रेमलाई समर्थन गर्ने अनुमान छ। यद्यपी भण्डारी र घर्तीको आधिकारिक धारणा भने आईसकेको छैन। भण्डारी र घर्ती दुबै संस्थापन पक्षका भएकाले कार्यकर्ता र केन्द्रीय नेताहरुले ओलीलाई समर्थन गर्न आग्रह गरिरहेको बुझिन्छ। पुराना नेताहरु गोपालजी, कृष्णप्रसाद र केशरमान तथा बर्तमान सभापति मानबहादुर केन्द्रिय सदस्य हुने लाईनमा छन्।
संस्थापन र देउवा पक्षबिच केन्द्रमा तिब्र प्रतिस्पर्धा हुने जस्तैगरी रुकुममा पनि माहोल तातिरहेको छ। जिल्ला नेतृत्व, पदाधिकारी, महासमिति सदस्य, क्षेत्रिय सभापति, गाउँ नगर सभापतिहरु पुराना नेताहरुसँग आफ्नो उम्मेद्वारीबारे तीब्र लबिङ गरिरहेको काँग्रेसका एक नेताले बताए। उनका अनुसार अन्तिम अबस्थामा आएर ओली र रोकायमात्र चुनावी मैदानमा उत्रने छन्। अहिले काँग्रेस नेताका घर तथा डेराहरु कार्यकर्ताहरुको गोप्य छलफलको अखडा बनिरहेको छ भने चियापसल, चोक र चौतारोमा समेत यसै बिषयलाई लिएर छलफल हुने गरिरहेको छ।
खासगरी ओली पक्षलाई पुराना काँग्रेस नेताहरु संस्थापन पक्ष भएकोले समर्थन गर्ने काँग्रेसका एक जिल्ला सदस्यले बताए। ओलीलाई संस्थापन पक्षका मानिने गोपालजीजंग शाह, कृष्णप्रसाद गौतम, केशरमान रोका र जिल्ला सभापति मानबहादुर नेपालीले समर्थन गरिरहेको ति जिल्ला सदस्यले बताए। ओलीका पक्षमा भातृ संघका प्रमुखहरु तथा जिम्मेवार व्यक्तिहरुले समर्थन गर्ने बताईन्छ। ओलीलाई नेविसंघका अध्यक्ष लालबहादुर ओली, महिला संघका सभापति सीता ओली, सेनानी संघका सभापति टेकबहादुर नेपाली, किसान संघका अध्यक्ष लगायतले समर्थन गरेका छन्। प्रेस युनियनका अध्यक्ष कृष्ण गौतमपनि ओलीको पक्षमा रहेको एक जिल्ला सदस्यले बताए। यस्तै रोकायलाई दलित संघका केन्द्रिय सदस्य यज्ञ परियार, शिक्षक संघका अध्यक्ष देबबहादुर खड्काले समर्थन गरेका छन्। बर्तमान कार्यसमितीका उपसभापति पूर्णजंग शाहले ओलीलाई समर्थन गर्ने गरी आफ्नो धारणा बनाएको उनी नजिकका एक कार्यकर्ताले बताए। शाह पहिले देउवा पक्षका मानिन्थे। सचिबहरु हर्कसिं खत्रीले रोकायलाई समर्थन गरिरहेका छन्। अर्का सचिब मनमोहन शाहले रोकायलाई समर्थन गरिरहेको भएपनि उनको प्यानलमा निर्वाचित सचिबमा नपरे ओलीलाई समर्थन गर्ने एक जिल्ला सदस्यको भनाई छ। सहसचिब भिमबहादुर खड्का ओलीको पक्षमा खुलेरै लागेका छन्। कोषाध्यक्ष गञ्जसिं बुढा पनि ओलीको पक्षमा छन, भने क्षेत्र नं. १ का क्षेत्रिय सभापति लालबहादुर महत रोकाय पक्षका हुनभने क्षेत्र नं. २ का सभापति खम्बु मल्ल पहिले रोकाय पक्षमा भएपनि अहिले उनलाई छोडेर ओली प्यानलमा आउनसक्ने बुझिएको छ। तरुण दल रुकुममा दुई प्यानल भएकाले नन्द विष्ट पक्षले रोकायलाई र जेके वाँठा पक्षले ओली प्यानललाई समर्थन गरिरहेका छन्।
यसका साथै जिल्लामा प्रभावशाली मानिएका जिल्ला तहका नेताहरु खडकबहादुर डाँगी, गोपालप्रसाद शर्मा, रास वुढा, धिरेन्द्र वटाला, गोरखप्रसाद खत्री, जनक चन्द लगायतका छन भने रोकाय पक्षमा मनिषा भण्डारी, शिव आचार्य, ताराप्रसाद ओली, केदार गौतम, महेन्द्र केसी, यज्ञ विष्ट, रहेका छन्।
सासद मिठु मल्लले केन्द्रमा संस्थापनको नामले चिनिन्छि भने जिल्लामा भने देउवा पक्षलाई खुलेर सहयोग गरिरहेकी छिन। बिभिन्न क्षेत्रमा रहेर ख्याती कमाई अहिले राजनिति गर्नेगरी आउन लागेका उद्योगी, व्यापारी, पूर्व कर्मचारीहरुपनि दुई खेमामा देखिएका छन्। खासगरी पूर्व शिक्षक मीनबहादुर पुन, उद्योग बाणिज्य संघका अध्यक्ष टेकबहादुर पुन, निर्माण व्यावसायी समितिका अध्यक्ष सुरतजंग मल्ल, पूर्व कर्मचारी गोर्खबहादुर खत्री, एनजिओकर्मी नरबहादुर नेपाली, टिकाराम खत्री, १ नं. का क्षेत्रिय सचिब टोपबहादुर खड्का लगायतले ओली पक्षलाई सहयोग गरिरहेका छन्।
त्यस्तै रोकाय पक्षमा व्यापारीहरु मोहवीर खड्का, यामबहादुर केसी, रामबहादुर विष्ट, थलवीर केसी छन्। आफ्नो पक्षमा निर्वाचन जित्न अहिले काँग्रेस नेताहरुको कार्यकर्ता परिचालन, छलफल, भेटघाट, टेलिफोन वार्ता भैरहेको छ। क्षेत्र नं. १ का एक नगरपालिका बाहेका २१ गाविसहरुमा ओलीको पक्षमा राम्रो जनमत रहेको देखिन्छ। क्षेत्र नं. २ का एक नगरपालिका र १८ गाविसहरुमा ओलीकै बहुमत रहेको छ भने रोकायको वराबर प्रतिस्पर्धा हुने जिल्लाका एक प्रभावशाली नेताले जानकारी दिए। उनका अनुसार माहोल परिवर्तन नभएमा र यो अबस्थामा नाटकीय ढंगबाट अगाडी नबढे ओलीको ओली प्यानलले जित्ने पक्कापक्की जस्तै छ। सभापति बाहेकका पदमा भने दुबै प्यानलकाले जित्नसक्ने देखिएको छ।
यस्तो हुनेछ प्यानल
प्रेमप्रकाश ओलीको सभापतित्वमा हुने उम्मेदारीमा उपसभापति पदमा सीता ओलीको नाम बढि चर्चामा छ। सचिब पदमा भीमबहादुर खड्का वा खडक डागीमध्ये एकले उम्मेद्वारी पाउने चर्चा रुकुम कांग्रेसमा चलिरहेको छ। सहसचिब र मनोनित हुने भएकाले यसमा अहिले कसैको चर्चा सुनिएको छैन। त्यस्तै ओलीको प्यानलबाट क्षेत्र नं. १ को सभापतिमा सुरतजंग मल्लले प्रतिस्पर्धा गर्नेछन भने क्षेत्र नं. २ मा गोरख चन्द वा धिरेन्द्र बटालामध्ये एकले प्यानल पाउनेछन्।
त्यसैगरी कृष्णबहादुर रोकायको सभापतित्वमा हुने प्यानलमा उपसभापतिमा हर्कसिंह खत्रीको नाम बढि चर्चामा छ भने सचिब पदमा नन्द बिष्टको सम्भावना बलियो रहेको उनका निकटस्तहरुको भनाई छ। त्यस्तै रोकाय क्याम्पबाट १ नं. को क्षेत्रिय सभापतिमा लालबहादुर महत वा तुलबहादुर घर्तिले उम्मेद्वारी दिनेछन्। त्यस्तै क्षेत्र नं. २ को सभापतिमा शिव आचार्य बढि चर्चित छन्।