काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्न डिपिआर सुरु
प्रकाशित २०७४ चैत ११ आइतबार
319
Shares
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।
रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताए ।
उनले भने, “पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ ।”
त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लाग्ने मन्त्री विश्वकर्माले बताए ।
सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने उनले बताए ।
त्यस्तै, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पनि समयमा सम्पन्न गर्ने उनको भनाइ थियो ।
उनले विगतका दिनमा प्रतिकूल वातावरणका बीचमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा क्षमता विकास गर्ने खेलाडीको योगदानको सरकारले कदर गर्ने चर्चा गरे ।