arrow

देउवा पक्षको देउता छुने कसम नमानेपछी पूर्व सभापति पाठक गाउँमै थन्किए

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
13th-congress.png.png.png.png
हाम्राकुरा सम्वाददाता, डोटी ।  कांग्रेस पूर्व जिल्ला सभापति यज्ञराज पाठकले देउवा पक्षलाई सहयोग गर्न नमानेपछी क्षेत्रीय अधिवेशनको प्रतिनिधि बन्नबाटै बञ्चित भएका छन् । संस्थापन पक्षका पाठक गाउँमै खुम्चिए । कपाल र दाह्री पाकिसकेका पाठकले देउवा पक्षीय कार्यकर्ताले देउवालाई सहयोग गर्छु भन्दै देवशीला छोएर कसम खाएमात्र प्रतिनिधि बन्न दिने शर्त राखेको बताए । पाठकले भने, ‘हाम्रो कार्यक्रम देवस्थलमा हुँदै थियो, केही कार्यकर्ता उठेर देउवालाई सहयोग गर्छु भनेर यो देवस्थलको शीला छोएर कसम खानुहोस्, त्यसपछि मात्र हामी प्रतिनिधि बन्न दिन्छौँ भन्न थाले, मैले त्यो कुरा मानेन त्यसपछि उनीहरुले एकलौटी प्रतिनिधि छनोट गरे ।’  
 
नेपाली कांग्रेसको जिल्ला अधिवेशन प्रतिनिधि बन्न आफ्नै गाविस छतिवन पुगेका त्यागि नेता पाठकले थपे, ‘सहमतिका साथ जाउँ, मेरै गृहस्थानमा निर्वाचन नगरौँ भनेर मैले नै प्रस्ताव गरेको हुँ, तर अन्ततः उहाँहरुले त्यस्तो सर्तराख्नु भयो मैले त्यो मान्ने कुरै थिएन ।’ संस्थापन पक्षको राजनीति गरेका कारणले आफु प्रतिनिधि बन्नबाट रोकिएको पाठकले सुनाए । गुनासो गर्दै उनले भने, ‘म दुई पटक पार्टीको जिल्ला सभापति भएँ, २०२७ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएको हुँ,  अहिले आएर कांग्रेसको गाउँ एकाई समितिबाट पनि प्रतिनिधि बन्नबाट बञ्चित भएँ ।’ आफुलाई जसरी भएपनि प्रतिनिधि बन्न रोक्न माथिको निर्देशन भएको पाठकको भनाई छ । 
 
जिल्ला अधिवेशनमा जस्तो सुकै परिमाण आएपनि गाविसबाटै प्रतिनिधि आउन रोक्ने कुरा राम्रो नभएको समानुपातिक सांसद भरतबहादुर खडकाले बताए । खडकाले भने,–‘लामो समयदेखि कांग्रेसमा लागेर त्यागको राजनीति गरेको व्यक्तिलाई प्रतिबन्ध गर्ने काम राम्रो होइन ।’
लोकतान्त्रिक प्रक्रियामा धेरै पूर्व मन्त्री र सांसद समेत पराजित भएको नेपाली कांग्रेस डोटीका कार्यवहाक सभापति रामप्रशाद उपाध्ययले बताए । देउवा पक्षका उनले भने, ‘उहाँ चुनाव लड्नु भएको हैन उम्मेद्वार नै हुनुहन्थेन भन्ने जानकारी प्राप्त भएको छ, सबै जानकारी हुन सकेको छैन ।’
क्षेत्रिय अधिवेशनका लागी प्रतिनिधी छनोट गर्ने काम गाविसको भएकाले जिल्ला समितिको हस्तक्षेप नहुने उपाध्यले बताए । डोटी जिल्लामा पनि कांग्रेसको संस्थापन र देउवा पक्षबीचको लोकतान्त्रिक प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । यद्यपि, दुबै पक्षको बराबर प्रतिनिधी आएको नेपाली कांग्रेस डोटीका सचिव पदम रावतले बताए । रावतले भने, ‘बाहिर कस्ता हल्ला आए थाहा भएन, दुबै पक्षका बराबर प्रतिनिधी आएका छन्, एक पक्षको मात्रै बर्चश्व छ, भन्ने कुरा हल्ला  मात्रै हो ।’
 
पाठक र डोटी कांग्रेस 
२०२७ सालमा जोरायलको क्याम्पसमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघमा आवद्ध     भएका पाठकले २०३३ सालमा भारतको लखनउमा रहेको शान्ति भवनमा पार्टी सदस्यता लिए । २०२८ सालमा राजाको विरोध गरेका कारण राजकाज मुद्दा लागेपछि  ८  बर्ष भारतको बनारसमा बसे । 
लामो समय भारतमा बसेका पाठक २०३६ सालमा जनमत संग्रहका लागि नेपालमा आन्दोलन सुरु हुन लागेको जानकारी पाएपछि नेपाल फर्किए । लामो समय पार्टी सचिवको रुपमा काम गरेका पाठकले दुई कार्यकाल जिल्ला सभापतिको रुपमा काम गरेका थिए । पाठक बिस्तृत शान्ति सम्झौता पछि २०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधान अनुसार गठन भएको अन्तरिम व्यवस्थापिका–संसदको सदस्य समेत बनेका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा डोटी क्षेत्र– २ बाट उम्मेद्वारका लागि टिकट पाउने चर्चा भए पनि अन्तिममा टिकट पाएनन् । जसले पाठकलाई पार्टीप्रति असन्तुष्ट बनायो । 
 
त्याग तपस्याको मूल्याङ्कन नभएको बताउँदै पार्टी सभापति सुशील कोइरालाई खुला पत्र समेत लेखेका थिए । २०७० सालको निर्वाचनमा पार्टीको निर्देशन नमानेको भन्दै अनुशासनको कारबाहीमा समेत परेका पाठक भन्छन्, ‘राजाले गरेको अत्याचारविरुद्ध लाग्नुपर्छ भनेर लागेको हुँ,  जिल्लामै एक दुई जना कांग्रेस कार्यकर्ता हुने बेलादेखि राजनीति सुरु गरेको हुँ, पार्टीका लागि जीवननै सर्मपण गरेको छु ।’ राजाको प्रत्यक्ष शासनतका राजाबाट मन्त्री बन्ने प्रस्ताव आएपनि आफुले अस्वीकार गरेको पाठक  बताउँछन् । उनले भने, ‘राजाले मलाई मन्त्री बन्नु भनेर हेलिकोप्टर नै पठाए, तर, मैले भने, म निष्ठाको राजनीति गर्छु राजाले दिएको मन्त्री खान्न, नेपाली कांग्रेसनै बन्छु, पदमा बिक्दैन भनेर फर्काएको थिएँ ।’
पाठकले भनेका छन्, ‘स्थानीय केही सञ्चार माध्यमले मैले प्रस्तावक र मर्मथक समेत नपाएको भनेर समाचार सम्प्रेण गरेका छन्, जब म निर्वाचन पक्रियामा नै सहभागी नहुने भनेर पहिला नै घोषणा गरिसकेको थिए । तर, प्रस्तावक र समर्थक नपाएको गलत हल्ला    गरेका छन् । पत्रकारलाई निश्पक्ष समाचार सम्प्रेसण गर्न समेत आग्रह गदुर्छु ।’ 
 
अविवाहित पाठकको ६२ वसन्त
२०११ साल असार महिनामा डोटी जिल्लाको छतिवन गाविस–५ रिठामा जन्मेका पाठक अविवाहित छन् । खुट्टामा हात्तीछाप चप्पल, खैरो कुर्ता सुरुवाल, गलामा पातलो गम्छा, काँधमा छड्के झोला उनको पहिरन हो । ६२ वसन्त पार गरेका पाठकले जीवनको उर्जाशील समय पार्टीको सक्रिय राजनीतिमा बिताए । ४ बर्ष पहिले विवाह किन नगर्नु भा ? भन्ने पत्रकारको प्रश्नको जवाफमा पाठकले भनेका थिए, ‘विहे गर्ने उमेर राजाको विरोध गर्दै, जेल वस्दै, संगठन विस्तार गर्दैमा सकिएको रहेछ, विवाहतिर ध्यान गएन ।
 
अब, त समयले बुढो बनाएछ ।’ जीवन नै पार्टीका लागि समर्पण गरेका नेताका रुपमा चित्रित हुँदै आएका पाठक पार्टी भित्र  राम्रो पकड बनाउन सफल भएनन् । किसान नेता भिमदत्त पन्तको प्रभावले निकै छोएको बताउने पाठकले भने, ‘भिमदत्त पन्त हाम्रो घरमा आउनु हुथ्यो भनेर मेरा बुबाले भिमदत्तको कुरा गर्नु हुन्थ्यो, मलाई पनि लाग्थ्यो शोषक शासकहरुविरुद्ध लाग्नुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ