जनकपुर । नेपाली काँग्रेसका सह महामन्त्री विमलेन्द्र निधि पार्टीको कार्यक्रमका लागि गृहनगर जनकपुर आउने भएपछि मधेसी मोर्चाका कार्यकर्ताले उनको आगमनलाई अवरोध गर्न यहाँ बम रहेको हल्ला फिजाएका कारण जनकपुर त्रसित बनेको छ ।
उनी काठमाडौंबाट जनकपुर ठीक एक बजे आइपुग्ने कार्यक्रम रहेको छ । उनी पार्टीको जिल्ला अधिवेशनको लागि जनकपुर आएका हुन् । मोर्चाका कार्यकर्ताले केही दिन अघि निधीसहित काँग्रेसका संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य लीला कोइराला र सांसद रामकृष्ण यादवको घरमा तोडफोड गरेर क्षति पु¥याएका थिए ।
जनकपुरका स्थानीय एक पत्रकारका अनुसार निधि आउने कार्यक्रम तय भएपछि मोर्चाका कार्यकर्ताले बिहानदेखि नै जानकी मन्दिरवरपर बम रहेको हल्ला फिजाएका छन् । ‘प्रहरीले पनि हल्ला मात्र भएको बताएको छ,’उनले भने,‘धनुषाका गाउँ वडाका प्राय ८० प्रतिशत अधिवेशन मोर्चाको अवरोधका बाबजुद पनि सम्पन्न भईसकेका छन् । अब जिल्ला अधिवेशनको तयारी भईरहेको बेला मोर्चाले हल्ला फिजाएका छन् ।’