arrow

गाईघाट-दिक्तेल सडकमा २३ वर्षपछि कालोपत्रे शुरु

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
danger-road.jpeg

गाईघाट, उदयपुर ।  उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट-दिक्तेल सडकखण्डअन्तर्गत सडक निर्माण शुरु भएको छ ।

तेइस वर्षपछि पहिलोपटक बल्ल उदयपुरको सदरमुकाम गाईघाटबाट सडक कालोपत्रे र नाला निर्माण कार्य शुरु भएको छ । गाईघाट-दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पहिलो चरणमा उदयपुरको गाईघाटस्थित त्रियुगा पुलदेखि गाईघाटको मुख्य चोकसम्मको सडक कालोपत्रे र बृहत् नाला निर्माण कार्य औपचारिक रुपमा शुरु भएको हो ।

पहिलो चरणमा गाईघाटको त्रियुगा नदीदेखि गाईघाट बजारको ट्राफिक चोकसम्मको एक किलोमिटर लम्बाइ र २५ मिटरको चौडाइ सडकसहितको नाला निर्माण र सडक कालोपत्रे कार्य शुरु भएको गाईघाट-दिक्तेल सडकखण्डका प्रमुख इञ्जिनियर निज्जल श्रेष्ठले बताए।

नेपाल सरकार सडक विभागको  ११ करोड ९८ लाख बराबरको आर्थिक लगानीमा पहिलो पटक सो सडकखण्डको नाला निर्माण र सडक कालोपत्रे गर्ने कार्य औपचारिक रुपमा शुरु भएको कुरा गाईघाट दिक्तेल सडक कार्यालय बताउँछ ।

सूर्य कन्ट्रक्शन प्रालि निर्माण कम्पनीले २०७५ को कात्तिकभित्र काम सम्पन्न गर्ने गरी आफूहरुले कार्य थालेका कुरा सो कम्पनीका सञ्चालक प्रदीपकुमार कार्कीले बताए ।

अब क्रमशः उदयपुरदेखि खोटाङको दिक्तेलसम्म १५८ किलोमिटर सडकखण्डमा सडकको नाला निर्माण र कालोपत्रे गर्ने कार्य अभियान शुरु भएको पनि गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरले बताएको छ ।

तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा गाईघाट-दिक्तेल सडकको औपचारिक शिलान्यास गरेपछि उक्त सडक निर्माण कार्य शुरु भएको थियो ।

अहिले २३ वर्ष बितिसक्दा पनि उक्त सडकखण्डमा सडक ग्राभेलिङ हुननसकेको र सडकका नाला निर्माण तथा कालोपत्रे कार्यसमेत हुन सकेको छैन ।  यस्तै, सडकखण्डअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा अहिले पनि स्थायी पुल निर्माण हुन नसकेको यातायात व्यवसायी बताउँछन् ।

ढिलै भए पनि २३ वर्षपछि पहिलो पटक कछुवाको गतिमा सो सडकखण्डमा नाला निर्माण र सडक कालोपत्रे औपचारिक कार्य शुरु भएको हो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ