arrow

फुटबल बचाउन बैशाख ६ भित्रै निर्वाचन गरौं –नेम्वाङ

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
pankaj-nemwang.jpg.jpeg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्षका उम्मेदवार पंकज नेम्वाङले बैशाख ६ गतेभित्रे एन्फाको निर्वाचन गराउन आग्रह गरेका छन् । 

बैशाख ६ गतेभित्रै निर्वाचन नभए फिफाले नेपाललाई कार्वाही गर्न सक्ने अवस्था भएकाले ठूलो दुर्घटना हुनबाट जोगाउन उनले एन्फा नेतृत्वलाई आव्हान गरेका हुन् । 

हाम्राकुरासंगको विशेष कुराकानीका क्रममा अहिलेको कार्यसमितिका केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङले भने, ‘२०७० साल कार्तिक ७ गते कार्यसमितिको निर्वाचन भएको हो, त्यो हिसाबले ४ वर्षे कार्यकाल गएको कार्तिक ६ मै सकिएको छ । परिस्थिति अनुसार ६ महिना थप्न पाउने व्यवस्था छ । त्यो समय पनि आउँदो बैशाख ६ गते सकिन्छ । तसर्थ मेरो विनम्र अनुरोध छ नेपाली फुटबल बचाऔं, बैशाख ६ भित्रै निर्वाचन गरौं ।’

नेम्वाङले भोटिङ राइट पाउनु पर्छ भन्दै मकबानपुर र भक्तपुर जिल्लाले अदालतले निवेदन दिएकामा मकबानपुरको निर्वाचन भइसकेको र भक्तपुरको सोमबार हुने क्रममा रहेको बताए । निर्वाचन भएपछि निर्वाचन प्रतिनिधि आउँदा स्वतः अदालतमा दिएको निवेदनको औचित्य सकिने भएकाले सम्मानजनक तरिकाले अदालतमा दिएको निवेदन फिर्ता लिन पनि नेम्वाङले आग्रह गरेका छन् । 

जिल्लाको निर्वाचनको १५ दिनसम्म केन्द्रीय निर्वाचनका लागि रोक्नुपर्छ कि भन्ने प्रसङगमा नेम्वाङले यसअघि नै सबै प्रक्रिया पूरा भएकाले अब त्यसो गर्न थालिए नेपाली फुटबल नै धरासायी हुने प्रतिक्रिया दिए । 

उनले भने, ‘गत पुसदेखि जिल्ला निर्वाचन प्रक्रिया भएको हो, माघमा यो प्रक्रिया सकियो, फागुन २४ भित्र निर्वाचन प्रतिनिधि र डेलिगेट्सको नाम पठाउनु भनेर जिल्लालाई एन्फाले चिठी काटेकै हो प्रक्रिया पुर्याउने समय पहिले नै सकिएकाले यो भैपरि आएको समयलाई सहमतिमा मिलाउनु पर्छ ।’

उनले निर्वाचन समिति पनि सकारात्मक रहेको र एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ पनि सकारात्मक रहेको बताए । अष्ट्रेलियामा रहेका श्रेष्ठ मंगलबार काठमाडौं फर्किदैछन् । 

नेम्वाङले केही व्यक्तिहरु एन्फालाई बिगार्न लागिपरेको भन्दै चुनाव नगराउने षडयन्त्र भइरहेको बताए । उनले भने, ‘केही व्यक्तिहरु एन्फामा परिवर्तन चाहँदैनन्, हामी परिवर्तन चाहन्छौं, उनीहरु आफूले नै हाँक्न पाए हाँक्ने होइन भने एन्फा नै निलम्बनमा परे पनि फरक नपर्ने भन्दै लागिरहेका छन् ।’

उनले अगाडि भने, ‘यसपटक अवसरवादीहरु सबै परास्त हुनेछन्, नेपाली फुटबलमा नयाँ इतिहास रचिने छ, त्यसपछि केवल विकास मात्रै हुनेछ, भ्रष्टाचारको सदाका लागि अन्त्य हुनेछ । 
 

चैत १४ गतेलाई तय भएको निर्वाचन उच्च अदालत पाटनमा निवेदन परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै निर्वाचन रोकेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ