arrow

झापामा काँग्रेेस संस्थापन पक्ष बलियो; सिटौला निकट थापाको पक्षमा प्रभावशालीहरु एकठाउँ

logo
सुशिला संग्रौला।
प्रकाशित २०७२ माघ २१ बिहिबार
13th-congress.png.png.png.png
बिर्तामोड। नेपाली काँग्रेसका अग्रज नेता तथा पूर्व सांसद डिल्ली सिटौलाले कांग्रेसको आसन्न झापा जिल्ला अधिवेशनमा उद्वव थापाको विजय सुनिश्चित रहेको बताएका छन्। सभापति पदका प्रत्यासी उद्दव थापाले बिहीवार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाको उम्मेद्वारीमाथि प्रष्ट पार्दै अग्रज नेता सिटौलाले ८० प्रतिशतभन्दा बढी मत ल्याएर थापा विजयी हुने उद्घोष गरे।
 
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद तथा अग्रज नेता डा. शंकरप्रसाद उप्रेती, सांसदहरु सुधिरकुमार शिवाकोटी, सरिता प्रसाईं, उषा गुरुङ, अमृतलाल राजवंशी, अग्रज नेता सन्तोष मेन्याङवो लगायतले कांग्रेसको संगठनलाई बलियो बनाई झापाको संसदीय फाँटमा लोकतन्त्रवादीको विजयी सुनिश्चित गर्नका लागि उद्वव थापालाई सभापतिमा जिताउन अपरिहार्य भएको विचार व्यक्त गरे।
 
कार्यक्रममा झापाका २४ वटा गाउँ समितिका सभापति, पाँच क्षेत्रीय सभापति, आठवटै नगरसभापति, तरुणदल, नेविसंघ, नेपाल महिला संघ, नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, मजदूर संघ–संगठनहरु लगायतका अधिकांश भातृ संस्थाका प्रमुखहरुले सभापति पदमा उद्वव थापाको उम्मेद्वारीप्रति समर्थन जनाउँदै सामुहिक तस्विर खिचाएर ऐक्यवद्धता जनाएका थिए।
 
पत्रकार सम्मेलनमा कांग्रेसको सभाहल समर्थकहरुको ठूलो उपस्थितिकाबीच सभापति थापाले भद्र तथा सालिन ढंगमा भने ‘माघ २३ गतेसम्म सहमतिमा जिल्ला नेतृत्व चयनका लागि तयार छु, २४ गते पदाधिकारीसहित मेरो नेतृत्वको टिम घोषणा गरेर अघि बढ्छु।’
 
आफ्नो पाँचवर्षे कार्यकालमा शहीद राजन गिरी स्मृति प्रतिष्ठान, सीके चिन्तन प्रतिष्ठान, शहीद यामबहादुर आचार्य स्मृति प्रतिष्ठान, शहीद चन्द्रमणि स्मृति प्रतिष्ठान, शहीद श्यामसुन्दर यादव प्रतिष्ठानहरु दर्ता गरी सालिक निर्माण गर्ने कार्य र प्रतिष्ठानबाट विभिन्न विधामा राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण, आयआर्जन र क्षमता अभिबृद्धि तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यलाई संस्थागत ढंगमा अघि बढाइएको सभापति पदका उम्मेद्वार थापाले पत्रकारहरुलाई जानकारी गराए। यसैगरी भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेको महामानव वीपी कोइरालाको अर्धकदको शालिक जिर्णोद्वार गरी पूर्णकदको शालिक निर्माण सम्पन्न गरी अनावरण गरिएको र २०२८ सालमा हत्या गरिएका प्रजातन्त्रवादी योद्धा बुटन चौधरीको अर्धकदको शालिक शनिअर्जुन नगरपालिका–९ स्थित सालबाडीमा निर्माण गरी अनावरण गरिएको झापा कांग्र्रेसका सभापति थापाले बताए। २०६४ को संविधानसभा चुनावमा झापाबाट एकसिट मात्र जितेको कांग्रेसलाई आफ्नो कार्यकालमा तीनवटा सिटमा जिताउन सफल हुनुका साथै अरु दुईवटा निर्वाचन क्षेत्रमा झिनो मतले उम्मेद्वारहरु पछि परेपनि जनताको अपार समर्थनबाट राजनीतिक विजय हासिल गरिएको उहाँले बताए। 
 
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तरगत १५ र १६ गते भएको गाउँ, वडा र नगरको निर्वाचनको परिणामले झापाकबाट संस्थापन पक्षको पल्ला भारी देखाएको छ। त्यसैमध्ये झापा क्षेत्र नं. १ मा संस्थापन पक्षको र देउवापक्षको ५०–५० देखिएको छ। त्यस्तै क्षेत्र नं. २ बाट संस्थापनपक्षको ८० प्रतिशत छ भने देउवा पक्षको २० प्रतिशत देखिएको छ। त्यस्तै झापा क्षेत्र नं. ३ अर्थात् नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको क्षेत्रमा संस्थापनपक्षको ९० र देउवापक्षको १० प्रतिशत आंकलन गरिएको छ भने क्षेत्र नं. ४ मा संस्थास्पनको ८० र देउवा लाइनको २० प्रतिशत रहेको छ। त्यस्तै क्षेत्र नं. ५ को केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको क्षेत्रमा २० प्रतिशत संस्थापन पक्ष र ८० प्रतिशत देउवा पक्षको रहेको छ भने क्षेत्र नं.६ मा संस्थापनको ६० र अर्कोपक्षको ४० प्रतिशत रहेको छ। त्यस्तै क्षेत्र नं. ७ मा दुवैपक्षको ५०–५० प्रतिशत रहेको यसअघि भएको गाउँ, नगर र वडाको निर्वाचन परिणामले देखाएको छ। त्यस्तै झापाका सबै क्षेत्रको अहिलेसम्म देखिएको मतपरिणाम अनुसार संस्थापनपक्षकै पल्ला भारी रहेको पार्टी स्रोतले बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ