arrow

टुटेको ‘ओली–मोदी’ सम्बन्ध गाँस्लान् त पौडेलले ?

‘दिल्ली चिडाएर बेजिङ अनुचित’

logo
प्रकाशित २०७२ माघ २१ बिहिबार
Bishnu-Paudel.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणको वातावरण बनाउन अर्थमन्त्री विष्णु पौडेल भारत भ्रमणमा जाँदै छन् । पौडेल २५ गते सोमबार दिल्ली प्रस्थान गर्ने छन् । अर्थमन्त्रीको साइत यसअघि, ओलीले भ्रमण गर्ने टाइमलाइन थियो । अहिले प्रधानमन्त्रीको भारत भ्रमण फागुनमा धकेलिएको छ । हालसम्म तिथी तय भएको छैन । सम्भावित तालिका अनुसार प्रजातन्त्र दिवस अर्थात् फागुन ७ (फेब्रुअरी १९) दिल्ली दौडाहाको बीचैमा परेकाको छ । जसले प्रधानमन्त्री ओलीको भ्रमण साइत अफ्ठयारोमा परेको छ । नाकाबन्दी अन्त्य नभएसम्म भारत भ्रमणमा नजाने ओलीको अडानकै कारण भ्रमण साइत अप्ठ्यारोमा परेको हो । फेबु्रअरी तेस्रो सातापछी संसद अधिवेशन सुरु हुने भएपछि भारतले महत्वपूर्ण भेटघाट त्यसअघि नै हुनु पर्ने जनाउ दिएको छ । 
 
भ्रमणको चाँजो–बाँजो मिलाउन भारत जान लागेका पौडेल वर्तमान कम्युनिष्ठ गठबन्धन सरकारको जम्बो मन्त्री मण्डलमा ओलीका एकमात्र विश्वास पात्र ठानिन्छन् । पौडेल कुटनीतिक रुपमा सफल हुन्छन् भन्ने धेरैको अड्कल छ । ओली भ्रमणबारे रहेको अन्योलता हटाउन अर्थमन्त्रीको भ्रमण अर्थपूर्ण छ । प्रधानमन्त्री ओलीका अन्य विश्वास पात्रहरु पहिलो भ्रमण भारत नै हुने ठोकुवा गरिरहेका छन् । उनीहरु भन्छन्, ‘चीन भ्रमणको विषयले जति नै चर्चा पाएपनि राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक र धरातलीय समस्या भारतसंगै रहेको र त्यो समस्याबाट छुट्कारा पाउनसमेत भारत भ्रमण नै पहिलो हुन्छ ।’ 
 
यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बोकेर दिल्ली जान लागेका अर्थमन्त्री विष्णु पौडेल बहस गर्न चाहदैनन् । पौडेले हाम्राकुरासंग भने, ‘मेरो भ्रमणमा राजनीतिक र आर्थिक दुवै एजेण्डाबारे छलफल हुन्छ, तर मूल विषय प्रधानमन्त्रीको भारत भ्रमण नै हो । विगतमा भएका सहमतितर्फ नजानुस् ।’ अहिले खासगरी राजनीतिक तरलता अन्त्य गर्नु पर्ने भएकैले प्रधानमन्त्रीको भारत भ्रमण प्रमुख हुने मन्त्री पौडेलको भनाई छ । आर्थिक विषयमा कुरा गर्न नचाहेका पौडेलले विहिबार मात्रै अर्थशास्त्री र नीजि क्षेत्रका विज्ञसंग छलफल गरेका छन् । भ्रमणका क्रममा भारत सरकारसंग राख्न सकिने केही नयाँ एजेण्डाबारे पौडेलले राय मागे । विज्ञहरुले यसअघि थन्किएका महत्वपूर्ण एजेण्डाहरुको पुनरावलोकन हुनुपर्नेमा जोड दिए । उसो त, अर्थमन्त्री पौडेलको भारतीय नेता तथा कर्मचारीतन्त्रसंग आफ्नै सम्बन्ध छ । यसअघि, माधवकुमार नेपाल नेतृत्वको सरकारमा जलस्रोत मन्त्री हुँदा पौडेलले अघि सारेका महत्वपूर्ण योजनाकै कारण पनि मोदी सरकार उदार बन्ने विश्वास ओली सरकारलाई छ । जहाँ पौडेले आफुले यसअघि सारेका एजेण्डालाई समेत हेर फेर गर्न सक्ने बताइएको छ । 
 
भारतीय  सत्तापक्षले कँही न कँही भूमिका र स्थान खोज्दछ : ज्ञवाली
एमाले सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमण दुई देश बीचको चिसोपन अन्त्य गर्नकै लागि हुने बताएका छन् । ज्ञवालीले भने, ‘राजनीतिक र आर्थिक दुबै विषय जोडिएपनि विशेषतः प्रधानमन्त्रीको भारत भ्रमणको साझा एजेण्डा तय गर्नु अर्थमन्त्री भ्रमणको सार हो, उहाँ बाट यो सम्भव छ ।’ राजनीतिक वातावरण सुधार, नेपाललाई पूर्ण कुटनीतिक सहयोग र नाकाबन्दी अन्त्य नभएसम्म मूलतः राजनीतिक विषयमै द्विपक्षीय छलफल केन्द्रित हुने ज्ञवालीको भनाई छ । 
 
संविधान जारी गर्नू अघि ओलीको विशेष दूतका रुपमा दिल्ली पुगेका ज्ञवालीले त्यसताका भारतको मनसाय जसरी पनि संविधान जारी गर्ने प्रक्रियालाई रोक्ने र ढिलाई गर्ने रहेको सुनाए । ज्ञवालीले भने, ‘भारत कुनै पनि हिसावले संविधान निर्माणमा ढिलाई गर्ने, जहाँ आफ्नो भुमिका खोज्ने र जसरी हुन्छ मधेसका मुद्दा बढी समेट्न लगाउने पक्षमा थियो ।’ भारतीय सत्ताधारीहरु नेपालको राजनीतिक परिवर्तनमा कँही न कँही आफ्नो भूमिका खोज्दछन् । तर, पछिल्लो पटक हामीले आत्मनिर्णयलाई बढावा दिएकैले तिक्तता बढेको हो । 
 
विजेपी सरकार हिन्दु राज्य चाहन्छ, तपाईहरुले मान्नु भएन अनि ? यो दुविधायुक्त कुराका रुपमा बाहिर आएको हो । ज्ञवालीले भने, ‘भारतीय जनता पार्टीका नेताहरुले व्यक्तिगत रुपमा भन्दै आए पनि भारत सरकारले नै आधिकारिक रुपमा हिन्दु राज्य नै हुनुपर्दछ भनेर भनेको छैन । भारतले हिन्दुस्तानलाई हिन्दु राज्य घोषणा गर्न नसक्ने, नेपाललाई हिन्दु राज्य बनाउने विषय किन झिक्ने ? ।’ भारतले नेपालमा सुरक्षाको प्रश्न उठाउने गरेको बताउँदै ज्ञवालीले सीमा क्षेत्रमा हुने अपराध, अपराधिलाई समात्न नेपालले गर्ने सहयोग र जाली नोट कारोबारका सम्बन्धमा चासो राख्ने गरेको जानकारी दिए ।  
 
मोदीसंग सम्बन्ध नजुट्नुको कारण के ? 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार परराष्ट्र सम्बन्धमा निकै चुकेका छ । दक्षिण एसियाबाट बलियो रुपमा प्रस्तुत हुन खोज्ने तर, छिमेकीसंगको सम्बन्ध सुधार गर्न नसक्ने ? अहिले बंगलादेश, पाकिस्तान र नेपालसंगको परराष्ट्र सम्बन्ध चिसिएको छ ।  ज्ञवालीले भने, ‘जब सम्म विजेपी प्रतिपक्षमा थियो, कांग्रेस आईविरुद्ध एउटै संघर्ष गरिरहयो, कांग्रेस आईले परराष्ट्र सम्बन्ध बनाउन सकेन ।’ निर्वाचनको मूल एजेण्डा समेत त्यही रहयो । तर, अहिले सोही विजेपी परराष्ट्र सम्बन्ध स्थापित गर्न झन् चुक्यो । जसको असरले   नेपाललाई समेत समस्यामा पारेको छ । नेपालको राजनीतिक समस्या समाधानसंगै वर्तमान विजेपी सरकारलाई उत्तिकै सुध्रिनुपर्ने चुनौती रहेको ज्ञवालीको भनाई  छ । 
 
‘दुई देशका प्रधानमन्त्री’ एकले अर्कालाई बुझेका छैनन् : बास्कोटा
प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र र एमालेको विदेश विभाग सदस्य एवं भारत डेस्क प्रमुख युवराज बास्कोटा चिसिएको राजनीतिक सम्बन्धलाई मोदीकै कार्यकालमा सुधार गर्नु पर्नेमा जोड दिन्छन् । नेपाल भारत मामिलाका जानकार बास्कोटा प्राय दिल्लीमै रहेर ओलीको सम्बन्ध सुधारका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनी मोदीकै कार्यकालमा ओलीले सम्बन्ध सुधार गर्नुपर्ने बताउँछन् । संविधान जारी अघि र पछि दुई पटक भारत पुगेका बास्कोटाले राजनीतिक समस्या समाधान र वर्तमान विभिन्न कष्टको निदान खोज्न समेत ओलीले पहिलो भ्रमण भारतकै गर्ने ठोकुवा गरे । हाम्राकुरासंग बास्कोटाले भने,‘ दुई देशका प्रधामन्त्रीले एक अर्काको पृष्ठभूमि बुझ्न नसक्नु नै मूल समस्या हो ।’
 
दुवैले एक अर्कालाई शंका गरेका छन्, बास्कोटाले थपे ,‘विजेपी सरकार हिन्दु राज्य घोषणा होस् भन्ने चाहन्छ, संविधान संशोधनमा समेत हिन्दु राज्यको स्थान खोजिरहेको छ ।’ स्वभावैले नेपालको भारतसंग सामाजिक, राजनीतिक र धार्मिक साइनो छ । सांस्कृतिक क्षेत्रमा अझ बढी आत्मियता गाँसिएको छ,–उनले भनेका छन् । अर्थमन्त्रीको भारत भ्रमण भारतीय निर्भरताको लेखा–जोखा राख्ने र थन्किएका सम्झौताहरु पुनरावलोकन गर्ने गहन आर्थिक एजेण्डा बन्न सक्नु पर्ने बास्कोटाको भनाई छ । नाकाबन्दीलाई कारण बनाएर चीन भ्रमणको विषय तन्किनु समस्या समाधानको मार्ग नभएको बताउँदै बास्कोटाले अहिलेको मूल समस्या राजनीतिक तरलता अन्त्य गर्नु हो–भने । दिल्लीलाई चिडाएर बेजिङ जान खोज्नु अनुचित प्रयास मात्र हुने बास्कोटाको तर्क छ ।                



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ