arrow

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

logo
प्रकाशित २०७५ वैशाख ५ बुधबार
beni1.jpg

म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो ।

अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका अनुसार, आगामी ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्यसहित काम भइरहेको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने १६९ किलोमिटर बेनी–जोमसोम–कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ । अहिले बेलिब्रिजमार्फत सवारी साधन वारपार हुँदै आएकामा ती बेलिब्रिजलाई विस्थापित गरी पक्की पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख सुवेदीले बताए ।

आयोजनाका अनुसार म्याग्दीको दानास्थित घट्टेखोलामा पाँच करोड ७६ लाखको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोलामा  पाँच करोड ९७ लाखमा सिर्वा कन्स्ट्रक्सन, मार्फा र जोमसोमको बीचमा  साढे १० करोडमा मुक्तिनाथ श्री गीता जेभीले पुल निर्माण गरिरहेको छ ।

त्यस्तै, कागबेनी खोलामा दुई करोड ८८ लाख लागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले तीन करोड नौ लाखमा ठेक्का लिएको छ । सडक विभागअन्तर्गत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकीमाथि पुल निर्माणको जिम्मा लिएको छ ।

दुवै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीव्र रहे पनि पोखरबेगरमा भने शुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ । गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ ।

आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुंगाखोलाका लागि एकहप्ताअघि टेण्डर आह्वान गरेको छ । नेपाली सेनाले मार्ग खोलेको ७६ किलोमिटर बेनी–जोमसोमखण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिब्रिजहरु जीर्ण भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ