arrow

यू–१९ क्वार्टरफाइनल भिडन्त : बंगलादेशविरुद्ध पहिले व्याटिङमा नेपाल, रच्ला इतिहास ?

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
nepal-VS-bangladehs.jpg.jpg.jpeg

काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा नेपालले आयोजक बंगलादेशसंग खेलिरहेको छ । शेर बंगला नेशनल स्टेडियम मिरपुरमा नेपालले टस जितेर व्याटिङ रोजेको छ । नेपालले बंगलादेशलाई गतिलो चुनौती दिन सके र बलिङमा रोक्न सके जित निकाल्न सक्ने धेरैको अनुमान छ । समूह ‘ए’ को विजेता बंगलादेश र समूह ‘डी’ को उपविजेता नेपाल दुबै जितको खोजीमा छन् ।

नेपालले समूह चरणको खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्याण्डलाई ३२ रनले स्तबध बनाएको थियो । दोस्रो खेलमा आयरल्याण्डलाई सहजै ८ विकेटले हराएको थियो । समूहको अन्तिम खेलमा भारतसंग ७ विकेटले पराजित हुँदै समूह उपविजेताको रुपमा बंगलादेशसंगको क्वार्टरफाइनल भेट पक्का गरेको हो । बंगलादेश अपराजित रहँदै समूह विजेता बन्दै अघिल्लो चरण पुगेको हो । समूह चरणमा दक्षिण अफ्रिकालाई ४३, स्कटल्याण्डलाई १ सय १४ रन तथा अन्तिम खेलमा नामिवियालाई ८ विकेटले हराउँदै समूह ‘ए’को विजेता बनेर शतप्रतिशत नतिजाका साथ क्वार्टरफाइनल पुगेको थियो ।

टेष्ट मान्यता प्राप्त राष्ट्र बंगलादेश पछिल्लो समय क्रिकेटमा बलियो बन्दै गएको छ । यो खेलमा पनि घरेलु मैदानमा बंगलादेशी युवा टोली उच्च मनोवलका साथ प्रस्तुत हुनेछ । तर, यू–१९ विश्वकप क्रिकेटमा जायन्ट किलरको छबी बनाएको नेपाल आज पनि विजयी नतिजा निकाल्दै इतिहास रच्ने दाउमा छ । यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसंग नेपालको दोस्रो भेट हो । सन् २००२ को प्लेट च्याम्पियनसिप सेमिफाइनलमा बंगलादेशलाई नेपालले २३ रनले हराएको थियो ।

न्यूजिल्याण्डको लिङ्कन प्लेट च्याम्पियनसिप सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४७ ओभर ३ बलमा १ सय ५७ रनमै अलआउट गर्दै २३ रनको रोमान्चक जित निकालेको थियो । कप्तान विनोद दासको नेतृत्वमा मैदान उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल बनाएको थियो । त्यसअघि यसअघि सन् २००० मा पहिलो पटक यू–१९ विश्वकपमा सहभागी हुँदा नेपाल दोस्रो चरण पुगेको थियो । क्वार्टरफाइनलमा पराजित भएको नेपाल १५ वर्षपछी क्वार्टरफाइनल खेल्दै छ । यो खेलमा विजयी हुँदै नेपालले सेमिफाइनमा स्थान बनाउन सके समग्र नेपाली खेलकुदका लागि एक ऐतिहासिक उपलब्धी हुनेछ ।

त्यतिमात्र नभई सेमिफाइन यात्राले नेपालको आगामी विश्वकप सहभागिता सहज हुने छ । एशोसिएट राष्ट्रबाट क्वार्टरफाइनलमा पुगेका दुई टोली नेपाल र नामिविया मध्ये शीर्ष स्थानमा रहने टोली अर्को पटकको विश्वकपमा सोझै छनोट हुनेछ । नेपाल उक्त अवसर सदुपयोग गर्न नामिवियालाई पछार्न सक्नु पर्नेछ ।  

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको बोर्ड बैठकले दुई टोलीमध्ये शीर्ष स्थानमा रहनेलाई अर्को पटकको विश्वकपमा सोझै छनोट गर्ने निर्णय गरेको छ । बैठकले एशोसिएट राष्ट्रको पक्षमा निर्णय गर्दै यो विश्वकपको शीर्ष स्थानमा रहने एशोसिएट सदस्य राष्ट्र सन् २०१८ को जनवरी १२ देखि फेबु्रअरी ४ सम्म न्यूजिल्यान्डमा हुने यू–१९ विश्वकप क्रिकेटका लागि सोझै छनोट व्यवस्था गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ