श्रमिकको सुरक्षा र स्वास्थ्यमा अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने : मन्त्री विष्ट
प्रकाशित २०७५ वैशाख १५ शनिबार
217
Shares
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने बताएका छन् । श्रम विभागको ‘१८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को शनिवार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुरा बताएका हुन् ।
“व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा गरेको व्यवस्थालाई कडाइका साथ पालना गराउन सरकारी निकायले सक्रिय भूमिका खेल्नेछ ।” उनले भने। मन्त्री विष्टले श्रमिकको हकअधिकार थप सुनिश्चित गर्नका लागि अपुग प्रावधान सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा सुधार गर्नका लागि सम्बन्धित औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, सरकारी कार्यालय, विभिन्न संस्थान, श्रमिक र श्रमिकसँग सरोकार राख्ने संघ संस्था सबैको सामूहिक सहयोग हुन जरुरी रहेको उनले उल्लेख गरे।
श्रम विभागले आयोजना गरेको प्रभातफेरि कार्यक्रममा श्रम युनियनका प्रतिनिधि, टेक्निकल कलेजका विद्यार्थी, रोजगारदाता व्यक्तिको सहभागिता रहेको थियो । प्रभातफेरि वसन्तपुरबाट शुरु भएर टुँडिखेलमा आएर समापन भएको थियो ।