- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । लियोनल मेस्सीको ह्याट्रिकसँगै आइतबार राति भएको खेलमा डेपोर्टिभो ला कोरुनामाथि ४–२ को जित निकाल्दै बार्सिलोनाले उपाधि पक्का गरेको हो ।
अन्तिम १० मिनेटमा दुई गोल गर्दै मेस्सीले बार्सिलोनालाई जिताए । यसअघि ८० मिनेटको खेलसम्म दुवै टिम २–२ को अवस्थामा थिए।
मेस्सी ला लिगाको इतिहासमा ३० भन्दा बढी गोल सातौं सिजनसम्म गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । यो सिजनमा ३२ गोल गरिसकेका मेस्सीले गोल्डेन सु पाउने समेत सम्भावना बनेको छ ।
बार्सिलोनाका लागि पहिलो गोल फिलिप्पे कौटिन्होले गरे । डेपोर्टिभोका लागि लुकास पेरेज र एम्रे कोलाजले १–१ गोल गरे ।
जारी लिगमा एक मात्र अपराजित टिम बार्सिलोनाको यो २५ औं ला लिगा उपाधि हो । बार्सिलोनाले चार खेल खेल्न बाँकी छँदै उपाधि जितेको हो ।
लिगका ३८ मध्ये ३४ खेल खेलेको बार्सिलोनाको ८६ अंक छ। निकटतम प्रतिस्पर्धी एथ्लेटिको मर्डिडको ३५ खेलबाट ७५ अंक छ । एथ्लेटिकोले आइतबार राति एलाभेसलाई १–० ले हरायो ।
डिफेन्डिङ च्याम्पियन तथा रियाल मड्रिडको ३४ खेलबाट ७१ अंक छ।